Kathmandu Press

ओलीले संसद विघटन ठिक थियो भनेपछि हामी सोच्न बाध्य भयौं : प्रधानमन्त्री प्रचण्ड 

‘पुस २६ गतेको संसद्‌मा मैले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिँदै गर्दा ओलीजीले संसद्‌मा जे बोल्नुभयो‚ त्यसले मनमा चसक्क भयो । हामी संसद् विघटनको विपक्षमा थियौँ ।'
ओलीले संसद विघटन ठिक थियो भनेपछि हामी सोच्न बाध्य भयौं : प्रधानमन्त्री प्रचण्ड 

काठमाडौं, फागुन १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिपछि आफूहरु विकल्प खोज्न वाध्य भएको बताएका छन् ।

बिहीबार सत्ता गठबन्धनका सांसदहरुको अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गते आफूले विश्वासको मत लिँदै गर्दा एमाले अध्यक्ष ओलीले संसद विघटन ठिक थियो भनेपछि माओवादी पार्टी विकल्प खोज्न वाध्य भएको बताएका हुन् । आफ्नो लागि प्रधानमन्त्री पद ठूलो कुरा नभई संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा रहेको बताए।

‘पुस २६ गतेको संसद्‌मा मैले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिँदै गर्दा ओलीजीले संसद्‌मा जे बोल्नुभयो‚ त्यसले मनमा चसक्क भयो । हामी संसद् विघटनको विपक्षमा थियौँ । हामी आफैँले त्यत्रो संघर्ष गरेर संसद् फिर्ता ल्याएका थियौँ । तर, उहाँले ठिक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ । संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन । हामी सोच्न बाध्य भयौँ । त्यस्तो नयाँ परिस्थिति बन्यो । आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एक ठाउँमा उभिएका छौँ’ प्रधानमन्त्री प्रचण्डले भने । 

प्रधानमन्त्री प्रचण्डले संसदलाई जोगाउन सविधान  र लोकतन्त्रको पक्षधरहरु एकजुट भएको स्मरण गरे । ‘हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर, बीचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ‚’ उनले भने । 

प्रधानमन्त्री प्रचण्डले रामचन्द्र पौडेलले राष्ट्रपतिको चुनाव जितिसकेको पनि बताए । पौडेललाई ८ नभई १० दलको समर्थन रहेको उनको भनाइ थियो । उनले सहमति गरेर जान आफूले आग्रह गरेपनि ओलीले नमानेको बताए ।   

प्रकाशित मिति: १७:११ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्