मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजबाटै सुरु हुन्छ : प्रधानमन्त्री

काठमाडौं, फागुन १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजबाटै सुरु हुने बताएका छन्।
राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा आज (बिहीबार) काठमाडौंमा आयोजित आठ दलका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्र्दै उनले मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजैदेखि सुरु हुने बताएका हुन्।
‘विश्वासको मत अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव पछाडि। मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजैदेखि सुरु हुन्छ,’ सञ्चारकर्मीले मन्त्रिपरिषदबारे राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले अहिलेको गठबन्धनको आयु पाँच वर्ष रहने दाबी पनि गरे। ‘यो गठबन्धन पाँच वर्षसम्म जान्छ,’ उनले भने।
गठबन्धनले शुक्रबार प्रदेश सांसदहरुसँग छलफल गर्ने कार्यक्रम राखेको छ भने राष्ट्रपति निर्वाचनको अघिल्लो दिन फागुन २४ गते संघीय र प्रदेश सांसदको संयुक्त अभिमुखीकरण कार्यक्रम हुनेछ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










