राष्ट्रियसभा उपाध्यक्ष अर्यालको आरोप : राष्ट्रपति भण्डारी एमालेको मात्रै
एमालेले जुनसुकै विधेयक लगे पनि पास गर्ने तर अन्य पार्टीहरूले लगेको विधेयक पास नगर्ने गतिविधिहरुका कारण राष्ट्रपति एमालेको मात्रै भएको भनाइ अर्यालको छ।
काठमाडौं, फागुन १८ : राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको इसारामा चलेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। अर्यालले राष्ट्रपति सबैको हुन नसकेको समेत बताइन्। राष्ट्रिय सभा उपाध्यक्ष हुनुअघि उनी माओवादी केन्द्रकी नेत्री थिइन्।
एमालेले जुनसुकै विधेयक लगे पनि पास गर्ने तर अन्य पार्टीहरूले लगेको विधेयक पास नगर्ने गतिविधिहरुका कारण राष्ट्रपति एमालेको मात्रै भएको भनाइ अर्यालको छ। ‘नागरिकता विधेयक राष्ट्रपतिले संसदबाट दुई पटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत हो,’ राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले बिहीबार सिंहदरबास्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको कुराकानीमा भनिन्।
अर्यालले पत्रकारसँगको कुराकानीमा अघि भनिन्, ‘दुईपटक लैजाँदा समेत विधेयक पास नगर्नु पीडादायी अवस्था हो। राष्ट्रपतिले राष्ट्रपतिजस्तो पदमा बसेर अरूको इसारामा नागरिकता विधेयक रोक्ने काम भयो। तर राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसाबले हेर्नुपर्ने थियो।’
नागरिकता विधेयकमा कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसाबले अघि बढेको आरोपसमेत अर्यालले लगाइन्। अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरूले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा आइपर्ने चेतावनीसमेत दिएकी छन्। ‘संवैधानिक पदमा रहेका व्यक्तिहरूले पार्टी भन्दा माथि उठेर राष्ट्रहितलाई सर्वोच्चतामा राखेर काम गर्नुपर्ने दायित्व छ,’ अर्यालले भनिन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










