Kathmandu Press

जेन–जी अभियन्ता ढुंगानाको चेतावनी- आन्दोलनको मर्मअनुसार सरकारले काम नगरे विरोधमा उभिन्छौँ

‘आफ्नो आन्दोलन सफल हुनु राम्रो कुरा हो, तर त्यसका लागि अरूलाई होच्याउने वा कमजोर देखाउने आवश्यकता हुँदैन,’ उनले भने। 
जेन–जी अभियन्ता ढुंगानाको चेतावनी- आन्दोलनको मर्मअनुसार सरकारले काम नगरे विरोधमा उभिन्छौँ

काठमाडौं, साउन १२ : जेन–जी अभियन्ता मिरज ढुंगानाले वर्तमान राजनीतिक घटनाक्रम, सुरक्षा अवस्था, रोजगारी संकट र सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै आन्दोलनको मर्मअनुसार काम गर्न सरकारलाई आग्रह गरेका छन्। 

जेन–जी अभियन्ताहरूको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ढुंगानाले भारत भ्रमणका क्रममा त्यहाँको जेन–जी आन्दोलनबारे जानकारी लिने अवसर नपाएको बताए। उनले भारतमा भएको युवा आन्दोलनको सफलताप्रति आफूहरू खुसी रहेको उल्लेख गर्दै कुनै पनि देशका युवाले परिवर्तनका लागि हासिल गरेको उपलब्धिप्रति सम्मान रहेको बताए।

उनले भारतका एक जेन–जी अभियन्ताले नेपाल र बंगलादेशका जेन–जी आन्दोलनभन्दा आफूहरूको आन्दोलन फरक रहेको अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै त्यस्तो टिप्पणीले आफूलाई दुःखी बनाएको बताए।

‘आफ्नो आन्दोलन सफल हुनु राम्रो कुरा हो, तर त्यसका लागि अरूलाई होच्याउने वा कमजोर देखाउने आवश्यकता हुँदैन,’ उनले भने। 

ढुंगानाले भारतबाट फर्किने क्रममा सुनसरीको देवानगञ्ज गाउँपालिका क्षेत्रमा भएको सामुदायिक द्वन्द्व र गोली प्रहारको घटनाप्रति चिन्ता व्यक्त गरे । उनले स्थानीय तहदेखि सुरक्षा निकायसम्म सम्भावित द्वन्द्वबारे सूचना पुगेको भए पनि समयमै आवश्यक कदम नचालिएको आरोप लगाए। ‘गृह मन्त्रालयको मुख्य जिम्मेवारी नै शान्ति सुरक्षा कायम गर्नु हो । यस्तो अवस्था आउन नदिन किन समयमै ध्यान दिइएन?’ उनले प्रश्न गर्दै भने।

उनले धार्मिक तथा सामुदायिक द्वन्द्व दोहोरिन नदिन राज्य थप सचेत हुनुपर्ने बताए। साथै समाजमा धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिए। 

ढुंगानाले विदेश रोजगारीका लागि जाने युवाहरूको अवस्थालाई उल्लेख गर्दै सरकारले देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताए। उनले कतार जान लागेका केही नेपाली श्रमिकसँग भेट भएको प्रसंग सुनाउँदै उनीहरूमा देशमै अवसर नपाउने निराशा देखिएको बताए। 

‘यो आन्दोलनको एउटा मुख्य मर्म यही देशमा बसेर गरी खान पाउने अवस्था सिर्जना गर्नु हो,’ उनले भने। 

उनले पछिल्ला आत्महत्याका घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै यसलाई सामाजिक र आर्थिक निराशाको संकेतका रूपमा बुझ्नुपर्ने बताए। ढुंगानाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसके आन्दोलनको मर्मविपरीत जाने अवस्था सिर्जना हुने र त्यसको विरोधमा आफूहरू उभिने चेतावनी दिए।

प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, साउन १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्