एमालेलाई नेकपा एसकाे जवाफ : पौडेलको प्रस्तावक रहिसकेकाले सहयोग गर्ने परिस्थिति छैन
‘हाम्रो तर्फबाट पार्टी अध्यक्षले मत माग्न आएकोमा एमाले नेताहरूलाई धन्यवाद दिनुभयो। सौहार्दपूर्ण वातावरण कुराकानी गर्ने आधार तयार भएकाले फेरि पनि छलफल हुन सक्ने बताउनुभएको छ।’
काठमाडौं, फागुन १८ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले राष्ट्रपतिमा एमालेलाई सघाउन नसक्ने बताएको छ।
राष्ट्रपतिमा एमालेका तर्फबाट उम्मेदवार रहेका सुवास नेम्वाङलाई मत माग्न आज (बिहीबार) पार्टी कार्यालय आलोकनगरमा पुगेका नेताहरूलाई नेकपा एसका अध्यक्ष माधवकुमारलगायत नेताहरूले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक रहिसकेकाले सहयोग गर्ने परिस्थिति नरहेको जवाफ दिएका हुन्।
दुई पार्टीका नेताहरूको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हाम्रो तर्फबाट पार्टी अध्यक्षले मत माग्न आएकोमा एमाले नेताहरूलाई धन्यवाद दिनुभयो। सौहार्दपूर्ण वातावरण कुराकानी गर्ने आधार तयार भएकाले फेरि पनि छलफल हुन सक्ने बताउनुभएको छ।’
राष्ट्रपतिमा तत्काल नेकपा एसले केही गर्न सक्ने अवस्था नभए पनि वार्ताको र मित्रता विस्तारको प्रयासमा सकारात्मक रहेको र निरन्तर रहिरहने उनले बताए।
नेकपा एसले भने बुधबार सचिवालय बैठकबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ। पार्टी विभाजनपछि पहिलोपटक दुई दलबीच औपचारिक छलफल सुरू भएकाले नकारात्मक कुरा हुनुपर्ने कुनै कारण नहरेको उनले बताए। तर एकअर्काबीचको नैतिक र राजनीतिक बन्धनलाई बुझेर भेटघाट कार्यक्रम सम्पन्न गरिएिको उनले बताए। एमालेले नेकपा एसको अस्तित्वमाथि अनेकौं लाञ्छना लगाए पनि पार्टी कार्यालयमै आएर औपचारिक संवाद गर्नु परिवर्तनको संकेत भएको पनि उनले बताए।
एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङ उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याललाई लिएर राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अनुरोध गर्दै अध्यक्ष नेपालसँग भेट गरेका हुन्। उनीसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याल रहेका थिए । नेकपा एसबाट भने अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा छलफलमा सहभागीभएका थिए।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। निर्वाचन नजिकिएसँगै आठदलीय गठबन्धनका तर्फकबाट कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल र एमालेका नेम्वाङ राष्ट्रपतिको लागि सहयोग माग्न भन्दै भेटघाटलाई तीव्रता दिएका छन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










