‘नेकपा एसका नेताहरूसँगको भेटवार्ता सकारात्मक, पार्टी एकताबारे एकखालको सहमति’
‘हामीले नेकपा एसका सांसदहरूलाई सुवास नेम्वाङको पक्षमा भोट हाल्न अनुरोध गर्यौं। अहिलेको चुनौतीबीच दुई पार्टीलाई एकता गर्ने विषयमा एक खालको सहमति भयो।’
काठमाडौं, फागुन १८ : एमालेले राष्ट्रपतिका लागि आफ्नो पार्टीका उम्मेदवार सुवास नेम्वाङको पक्षमा मत माग्ने क्रममा नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेताहरूसँगको भेटवार्ता सकारात्मक भएको बताएको छ।
नेकपा एसको कार्यालय आलोकनगर पुगी मत मागेर फर्केपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रपतिमा भोट माग्ने अभियानमा पहिलोपटक नेकपा एसको कार्यालयमा आएर अध्यक्ष माधवकुमार नेपालसहित सबै पदाधिकारीसँग गरिएकाे छलफल सकारात्मक भएकाे र दुई पार्टीबीचको एकताबारे एकखालको सहमति भएको बताए।
‘हामीले नेकपा एसका सांसदहरूलाई सुवास नेम्वाङको पक्षमा भोट हाल्न अनुरोध गर्यौं। अहिलेको चुनौतीबीच दुई पार्टीलाई एकता गर्ने विषयमा एक खालको सहमति भयो,’ उनले भने, ‘यही अवसरलाई समातेर हामी फेरि पनि भेटघाट र छलफललाई अगाडि बढाउने साझा सहमति भएको छ।’
समयको शक्तिले विगतका आग्रह-पूर्वाग्रह, रिस-राग त्यागेर अगाडि बढ्ने बाटो भेटिएको उनको भनाइ थियो। भोट माग्ने सिलसिलामा नेकपा एसका कार्यालयमा भएको वार्तामा उपमहासचिव गुरुङ, राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरू सहभागी थिए।
भेटमा नेकपा एसले राष्ट्रपतिमा सघाउन नसक्ने जवाफ दिएको बताइएको छ । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको प्रस्ताव रहेको पार्टी भएकाले सहयोग गर्ने परिस्थिति नरहेको जवाफ दिएको बताए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










