Kathmandu Press

प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता 

प्रस्तावक रामबहादुर राना रहेका उक्त प्रस्तावको समर्थकमा कांग्रेसका भूमिप्रसाद राजवंशी रहेका छन् ।
प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता 

काठमाडौं, फागुन १७ : नेकपा एमालेले प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ । एमालेका प्रदेश सभा सदस्य रामबहादुर मगरले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता गराएका हुन् । 

प्रस्तावक रामबहादुर राना रहेका उक्त प्रस्तावको समर्थकमा कांग्रेसका भूमिप्रसाद राजवंशी रहेका छन् । प्रस्ताव पेस गर्नका लागि बिहान १० देखि १२ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर, दलहरुबीच सहमति गर्ने प्रयास जारी रहेकोमा १२ बजेसम्म प्रस्ताव पेस हुन सकेन । त्यसपछि थप एक घन्टा समय थपिएको थियो । सोही समयभित्र एमालेले प्रदेशसभा सचिवालयमा प्रस्ताव पेस गरेको हो ।

 ‘प्रदेशले आफ्नो नामाकरण प्रदेशसभाबाट आफैंले गर्नुपर्नै दायित्व पुरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै ऐतिहासिक, धार्मिक तथा जातजाती, भाषा, सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपर्युक्त ठानिएको छ,’ प्रस्तावमा भनिएको छ ।

यसअघि नेकपा माअ‍ोवादी केन्द्रले पहिचान झल्किने नाम राख्नुपर्नेमा जोड दिएको थियो । उसले कोसी किराँत वा लिम्वुवान किराँत राख्नुपर्ने बताउँदै आएपनि अन्तिममा कोसीमै सहमति गरेको छ । 

आजको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव पेश भई निर्णय गर्ने कार्यसूची तय भएको छ ।  

प्रकाशित मिति: १३:०८ बजे, बुधबार, फागुन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्