राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
निवार्चन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनकाे लागि आचारसंहिता लागू गरेकाे हाे।
काठमाडाैं, फागुन १७ : राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निवार्चन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनकाे लागि आचारसंहिता लागू गरेकाे हाे।
आयाेगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जनाएकाे छ।
राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।
राष्ट्रपति चुनिएपछि मात्र उपराष्ट्रपति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने छ । त्यसैले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लाग्न बाँकी छ ।
आचारसंहिता अन्तर्गत मतदानको ४८ घन्टा अघिदेखि सभा, जुलुस, नाराबाजीलगायत प्रचारप्रचार गर्न नपाउने व्यवस्था छ । साउन्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल तथा अन्य कुनै साधन प्रयोग गर्न नपाउने भनिएको छ । बाजा, सार्वजनिक भोज, हुलहुज्जत गर्न नपाइने, हातहतियार लिएर हिँड्न नपाइने व्यवस्था आचारसंहितामा छ । मादक पदार्थ पनि निषेध गरिएको छ।
यस्ताे छ आचारसंहिता
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लाग्ने निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू हुनेछ ।
निर्वाचनमा संघीय संसदका ३३२ र प्रदेशसभाका ५५० जना गरी ८८२ जना मतदाता रहन्छन् ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










