Kathmandu Press

१६ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेको मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेकी हुन्
१६ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं, फागुन १६ : नेकपा एमालेले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएपछि रिक्त रहेका मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जिम्मामा आएको छ । 

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेको मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेकी हुन् । एमालेले प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्रालय लिएको थियो । राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्रीले कांग्रेसको उम्मेदवारलाई समर्थन गरेपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । 

एमालेले एक उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिएको थियो । अब ती सबै मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैले सम्हाल्नेछन् । 

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)पनि सरकारबाट बाहिरिएको थियो । राप्रपाले एक उपप्रधानमन्त्रीसहित उर्जा मन्त्रालय, कानुन मन्त्रालय र सहरी विकास मन्त्रालय र एक राज्यमन्त्री लिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिइसकेको छ। लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद बदर गरिदिएको थियो। त्यसपछि उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए। रास्वपाले मन्त्रिहरुलाई  फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायम राखेको छ । 

प्रधानमन्त्री प्रचण्डले माघ ३ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यतिबेला उनले दुई मन्त्रालय आफैसँग राखेका थिए। सरकारमा रहेका तीन दलले मन्त्री फिर्ता गरेपछि हाल माओवादी केन्द्र र जनमत पार्टी सरकारमा छन् । 

राष्ट्रपति निर्वाचनको विषयले फेरिएको राजनीतिक समिकरणका बीच अब कांंग्रेस, एकीकृत समाजवादी लगायतका पार्टीहरु सरकारमा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने पक्षमा छन् । 

प्रकाशित मिति: १४:५१ बजे, मंगलबार, फागुन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्