राष्ट्रपति निर्वाचन : आज उमेदवारले नाम फिर्ता लिन सक्ने
आजै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यसअघि शनिबार उमेदवारी दर्ता गरिएको थियो ।
काठमाडौं, फागुन १६ : राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन सक्नेछन् । उमेदवारी फिर्ता लिन चाहने उमेदवारले उमेदवारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ ।
आजै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यसअघि शनिबार उमेदवारी दर्ता गरिएको थियो ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङले राष्ट्रपतिको निर्वाचनका लागि उमेदवारी दर्ता गराएका छन् । पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ । उनी आठ दलका साझा उमेदवार छन् । उमेदवारी दर्तामा आठ दलका शीर्ष नेता पौडेलका प्रस्तावक र सम्मर्थक बसेका थिए ।
निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् ।
एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुनेछ । सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको निर्वाचन आयोगको निर्वाचन शाखाका ऋषिराम भुसालले जानकारी दिए ।
प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता रहेका छन् ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










