पिठ्युँमा छोरो बोकेर लोकदोहोरी प्रतिष्ठानको महाधिवेशनमा गएकी स्वस्तिका चर्चामा
यही फागुन १२–१४ गतेसम्म धादिङमा सम्पन्न भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनमा भाग लिएकी उनलाई आफ्नो कलाले चर्चामा ल्याएको हो।
कर्णाली, फागुन १५ : मुगु सोरु गाउँपालिका निवासी स्वस्तिका शाहीको चर्चा एकाएक चुलिएको छ। यही फागुन १२–१४ गतेसम्म धादिङमा सम्पन्न भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनमा भाग लिएकी उनलाई आफ्नो कलाले चर्चामा ल्याएको हो।
मुगुबाट तीन वर्षको बच्चा बोकेर धादिङ पुगेकी शाहीले यहीँ फागुन १३ गते महाधिवेशनमा कर्णालीको प्रतिनिधिमूलक आवाज प्रस्तुत गरेकी थिइन्। हवाईजहाजको महँगाे भाडा तिरेर केन्द्रीय महाधिवेशनमा पुगेकी उनले आफूलाई राष्ट्रियस्तरका कलाकारहरुले बेवास्ता गरेको गुनासो गर्न समय मागिन्।
'मुगु, हुम्ला, अछाम, बाजुरा, डोटीलगायत जिल्लाबाट प्रतिनिधि बोलाउने कि नबोलाउने, तपाईंको हातमा छ। हामी हरेक समय खर्चका साथै ज्यानसमेत जोखिममा राखेर आउन सक्दैनौं,' शाहीले महाधिवेशनमा आक्रोश व्यक्त गरिन्। काठमाडौँ, पोखरालगायत सहरमा मात्र नभइ गाउँका कुना कन्दरामा पनि अधिवेशन गरेर देखाउन उनले कला क्षेत्रका नेतृत्वलाई आग्रह गरिन्।
मुगुस्थित लोक तथा दोहोरी गीत प्रतिष्ठानका कोषाध्यक्षसमेत रहेकी कलाकार शाहीले धादिङमा आफ्ना विचार व्यक्त गर्दै कर्णालीजस्ता पिछडिएका क्षेत्रबाट आएका प्रतिभालाई प्रतिष्ठानले स्थान दिनाका साथै उनीहरुलाई अगाडि बढ्न हौसलासमेत प्रदान गर्नुपर्ने माग गरिन्।
उनले व्यक्त गरेको कुराले सिङ्गो कर्णालीको प्रतिनिधित्व गरेको अधिवेशनमा सहभागीहरुले बताए। शाहीले प्रतिष्ठानका पदाधिकारी तथा राष्ट्रियस्तरका कलाकारलाई कर्णालीको वास्तविकता, दुःख र वेदनाहरुलाई गीतसंगीतमार्फत उजागर गर्न अनुरोधसमेत गरिन्। कर्णालीमा गाइने देउडासँग सम्बन्धित गीत पनि उनले गाएकी थिइन्।
शाहीले स्वर्गीय गायिका तारादेवीको ‘सिरीरी मुरली बज्यो वनैमा’ गाउनाका साथै देउडा भाकामा ‘लामै छ हुलाकी बाटो कर्णालीपारिको, रक्षा गर्यौ भगवान् म दुराचारीको’ तथा कर्णालीको न्याउला भाकामा ‘शाही र म परेवा जोडी घुटुक्क बाडुल्की लायाँ, सँगसँगै रनु (रहनु) हो प्यारा रातिमा सपनीमा आयाँ’ भन्ने गीत गाएकी थिइन्। उनको गीतको भाकाले अधिवेशनमा सहभागी कलाकारको मन जितेको थियो।
शाहीको प्रतिभाको कदर गर्दै कलाकार विश्वास नेपालले उनलाई गीत रेकर्ड तथा भिजुलाईजलगायत आवश्यक सबैमा सहयोग गर्ने प्रतिबद्धता जनाए भने सहयोग स्वरुप रू. २५ हजार संकलन पनि गरिएको थियो। अहिले उनीी सामाजिक सञ्जाल टिकटक, युट्युब, फेसबुक, इन्स्ट्राग्राममा प्रख्यात बनेकी छन्।
शाहीले अवसर पाउन बोल्नु पर्दोरहेछ भन्ने धादिङ महाधिवेशनबाट सिकेको बताइन्। उनले भनिन्, 'कुनै पनि कुरा प्राप्तिका लागि संघर्ष आवश्यक पर्छ, संघर्षलबाटै प्रतिफल सम्भव छ,' शाहीले भनिन्। पिठ्युँमा बच्चा बोकेर कर्णालीको आवाज केन्द्रीय महाधिवेशनमा घन्काउने शाही दुर्गम क्षेत्रको प्रतिनिधित्व गर्ने साहसी महिला हुन्।












