अभिनेता पल शाह रिहा, समर्थकले गरे भव्य स्वागत
पल रिहाइ हुने भएपछि उनका समर्थकहरू बिहानैदेखि जिल्ला कारागार तनहुँ परिसरमा भेला भएका थिए। पल रिहा हुनुअघिदेखि नै उनीहरूले 'पल शाह हाइ हाइ’ भन्दै नारा लगाएका थिए।
काठमाडौं, फागुन १५ : नाबालिग बलात्कार आरोपमा एक वर्षअघि जेल परेका अभिनेता पल शाह रिहा भएका छन्। उच्च अदालत पाेखराबाट सफाइ पाएका उनी जिल्ला कारागार तनहुँबाट आज (सोमबार) बिहान साढे ११ बजे रिहा भएका हुन्।
पल रिहाइ हुने भएपछि उनका समर्थकहरू बिहानैदेखि जिल्ला कारागार तनहुँ परिसरमा भेला भएका थिए। पल रिहा हुनुअघिदेखि नै उनीहरूले 'पल शाह हाइ हाइ’ भन्दै नारा लगाएका थिए।
बाहिरिने क्रममा पल अबिरमालाले सजिएका थिए। उनका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथीभाइले कारागारभित्रै गएर पललाई खादा र माला लगाइदिएका थिए।
नाबालिग बलात्कारको उजुरी परे पनि उनले जिल्ला अदालत तनहुँबाट यसअघि नै सफाइ पाइसकेका छन्।तर जिल्ला अदालत नवलपुरले भने उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो। तर उच्च अदालत पोखराले नवलपुरकाे फैसला उल्ट्याइदिएपछि आइतबार उनले सफाइ पाएका हुन्।
आइतबार कार्यालय समय सकिइसकेकाले उनको मात्र रिहाइ हुन सकेन। आज कार्यालय खुलेसँगै आवश्यक प्रकिया पूरा गरेर उनको रिहाइ गरिएको हो। उनी आजै काठमाडौं आउने बुझिएको छ।
शाहले आफूमाथि बलात्कार गरेको भन्दै एक नाबालिग किशोरी गायिकाले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा प्रहरीसमक्ष उजुरी दिएकी थिइन्। दुवै जिल्लाका अदालतले बकपत्र गर्दा भने उनले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।
नवलपुर अदालतले बाल यौन दुराचारको मुद्दामा साढे दुई वर्ष कैद र रु १० लाख जरिवानाको फैसला सुनाएकामा उच्च अदालतको आइतबारको फैसलाबमोजिम शाहले सफाइ पाएको उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए।
उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो। नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।
उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए।
उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाहलाई कारागारमुक्त गरिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए। रिहा गर्नु अगाडि शाहको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।
नाबालिक जबर्जस्ती करणीको अभियोगमा कारागारमा थुनामा रहेका नायक शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो। नाबालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध तनहुँ र नवलपुर प्रहरीमा उजुरी परेको थियो। शाहलाई गत वर्ष चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।






![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










