संघीय संसद अन्तर्गत दुबै सदनको बैठक बस्दैं, यस्तो छ सम्भावित कार्यसूची
संघीय संसद अन्तर्गत दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको हो ।
काठमाडौं, फागुन १५ : संघीय संसद अन्तर्गत दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको हो । यस्तै राष्ट्रियसभाको बैठक आज अपराह्न १२ बजेर ३१ मिनेटमा बस्ने छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिकतर्फबाट २०७९ सालको प्रतिनिधिसभामा निर्वाचित सदस्य एवं बञ्चितिकरणमा परेका समुदायको सशक्तिकरणमा नेतृत्वदायी भूमिका निभाएका शहनाज रहमानको २०७९ फागुन १३ गते हृदयघातको कारण भक्तपुर जिल्ला अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएकोमा निधनप्रति शोकप्रकट गर्दै शोकप्रस्ताव पारित गर्ने कार्यसूची रहेको संघीय संसद्काले जनाएको छ ।
यस्तै राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको उल्लेख छ ।
यसैगरी विधायन व्यवस्थापन समितिका सभापति डा। बेदुराम भुसालले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७८, ०७९ सभा समक्ष पेस गर्नेछन् ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










