Kathmandu Press

सरकारी पक्षले भन्याे- सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश त्रुटिपूर्ण

महान्यायाधिवक्ता कार्यालयका तर्फबाट बहस गरेका सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी र सोमकान्त भण्डारीले सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने जिकिर गरेका छन्।
सरकारी पक्षले भन्याे- सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश त्रुटिपूर्ण

काठमाडौं, फागुन १४ : राष्ट्रिय टिमबाट विदेशमा खेल्न जान पाउनुपर्ने मागसहित क्रिकेटर सन्दीप लामिछानेले दिएको मुद्दा र उनलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध दायर गरेको पुनरावलोकन निवेदनको संयुक्त सुनुवाइका लागि सर्वोच्च अदालतमा बहस जारी छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासमा ती मुद्दाका विषयमा सुनुवाइ भइरहेको छ। सुनुवाइअन्तर्गत पीडित पक्षका सरकारी वकिल र पीडित भनिएकी किशोरीकी कानुन व्यवसायीले बहस गरेका छन्। यो मुद्दाको सुनुवाइ बन्द इजलासमा भइरहेको छ। उनीहरूको बहस सकिएपछि सन्दीपका कानुन व्यवसायीले बहस गर्नेछन्। सन्दीपका तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापासहित कानुन व्यवसायीले वकालतनामा पेस गरेका छन्। 

नाबालिग किशोरी बलात्कारको अभियोग लागेको सन्दीपलाई उच्च अदालत पाटनले विदेश भ्रमणमा जान नपाइनेसहित पाँच सर्त राखेर २० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। उक्त आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पनि सर्वोच्चमा रिट दिएको थियो। महान्यायाधिवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको छ। 

सर्वोच्च अदालतले उच्च अदालत पाटनको आदेश बदर गरे लामिछाने थुनामा बस्नुपर्नेछ भने साधारण तारेखमा छाड्ने आदेश दिए विदेश जाने बाटो खुल्नेछ। नाबालिग किशोरी बलात्कार अभियोगमा जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो। देश छाड्न नपाइने सर्त भएका कारण सन्दीप यूएईको दुबईमा हुने आईसीसी विश्वकप लिग–२ खेल्ने नेपाली टोलीमा सहभागी हुन पाएनन्।

महान्यायाधिवक्ता कार्यालयका तर्फबाट बहस गरेका सहन्यायाधिवक्ताद्वय सञ्जीव रेग्मी र सोमकान्त भण्डारीले सन्दीपलाई उच्च अदालतले धरौटीमा छाड्न दिएकाे आदेश त्रुटिपूर्ण भएको बताएका छन्। सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने जिकिर उनीहरुले गरेका छन्। कसको के योगदान छ भन्दा पनि अपराध के हो भनेर हेर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

इजलासले भने पीडितले किटानी जाहेरी दिएको र सन्दीपले आरोप अस्वीकार गरेको अवस्थामा के आधारमा निर्णय गर्ने भनेर प्रश्न सोधेपछि उनीहरूले सन्दीपले नाबालिग किशोरीलाई नगरकोट घुमाउन लगेको, चाँडै फर्किन गरेको आग्रहलाई अस्वीकार गरेको, सिनामंगलस्थित एक होटलमा एउटा मात्र कोठा लिएको घनाले उनमा खराब नियत रहेको प्रस्ट देखिएको बताएका थिए।

प्रकाशित मिति: १५:०२ बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्