केन्द्रको समीकरण फेरिँदा सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत पाउनेमा विश्वस्त
प्रदेशसभाको विश्वास पाउन २७ सिटको समर्थन जुटाउनुपर्छ। त्यसका लागि ४ सिट अपुग हुने अवस्थाले मुख्यमन्त्री शाहमा छटपटाहट थियो। नाउपासँग मत माग्दा तटस्थ बस्ने बताएपछि उनी झनै आत्तिएका थिए।
धनगढी, फागुन १४ : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह केही दिन अघिसम्म कसरी विश्वासको मत प्राप्त गर्ने भन्नेमा चिन्तित थिए। तर अब उनी चिन्तामुक्त देखिएका छन्। राष्ट्रपति निर्वाचन नजिकिएसँगै केन्द्रीय सत्ता समीकरण फेरिएपछि उनी विश्वासको मत पाउनेमा विश्वस्त छन्।
हालै बनेको आठदलीय गठबन्धन बन्नुअघिको सातदलीय गठबन्धनको समर्थमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बनेका राजेन्द्र रावलले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कारण विश्वासको मत नपाएपछि ठुलो दलको हैसियतमा नेपाली कांग्रेसले मुख्यमन्त्री पाउने अवस्था निम्तिँदा सो पार्टीको संसदीय दलका नेतासमेत रहेका शाह माघ २६ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका थिए।
संविधानतः मुख्यमन्त्री नियुक्त भएको ३० दिनिभत्र (फागुन २६ सम्म) विश्वासको उनले मत लिनुपर्ने हुन्छ। एमाले, माओवादी केन्द्रसहितको समीकरण रहेसम्म विश्वासको मत नपाउने आशंका उनमा थियो। अब उनको त्यो आशंका धेरै हदसम्म निवारण भएको छ। केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका आठ दलको गठबन्धन बनेपछि विश्वासको मत पाउने निश्चितजस्तै भएको छ।
सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय छ। शाहलाई कांग्रेसका १९ र सरकारमै सहभागी नेकपा एसका चार सांसदको मात्र समर्थन छ। प्रदेशसभाको विश्वास पाउन २७ सिटको समर्थन जुटाउनुपर्छ। त्यसका लागि ४ सिट अपुग हुने अवस्थाले मुख्यमन्त्री शाहमा छटपटाहट थियो। नाउपासँग मत माग्दा तटस्थ बस्ने बताएपछि उनी झनै आत्तिएका थिए। केन्द्रीय समीकरण नबदलिएसम्म विश्वासको मत लिन गाह्रो पर्ने र सुदूरपश्चिम सरकार संकटमा फस्ने सम्भावनाका बीचमा शाह थिए। तर केन्द्र समीकरण फेरिनु उनका लागि लाभदायी हुन पुगेको छ।
नयाँ गठबन्धनमा आबद्ध दल माओवादी केन्द्रको १० (सभामुखबाहेक) र नाउपाका ७ प्रदेशसभा सदस्यको समर्थन पाए मुख्यमन्त्री शाहले ४० मत पाउनेछन्। आठदलीय गठबन्धनभन्दा बाहिरका दल एमालेका १०, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन्। मुख्यमन्त्री शाहले फागुन २२ अगावै विश्वासको मत लिने तयारी गरेको जनाइएको छ।
संस्थापक सल्लाहकार रेशम चौधरीको रिहाइलाई मूल मुद्दा बनाउँदै आएको नाउपाले बदलिँदो परिस्थितिमा सुदूरपश्चिमका हकमा मत नदिए पनि विश्वासको मत पाउन कुनै कठिनाइ हुँदैन। किनकि अब माओवादीको १० मत पनि पक्कै उनले पाउनेछन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










