Kathmandu Press

परराष्ट्रमन्त्री डा. पौड्याल जेनेभा जाँदै

नेपाल परिषद्को सदस्य राष्ट्र हो। सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री डा. पौड्याल जेनेभा जाँदै

काठमाडाैं, फागुन १४ : परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२औं सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा जाँदैछिन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेकी  हुन्। 

नेपाल परिषद्को सदस्य राष्ट्र हो। सो अवसरमा नेपालले गरेका प्रतिबद्धता र त्यसमा गरेका कामबारे समेत अवगत गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री डा. पौड्यालले नेपालको उपस्थिति र यस क्षेत्रमा नेपालले गरेका प्रगति र कामका बारेमा विश्व मञ्चमा जानकारी गराउनका लागि पनि यसपटकको सहभागिता महत्वपूर्ण हुने बताइन्। 

नेपालले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषय र गरेका कामका बारेमा अन्तर्राष्ट्रिय मञ्चमा सुनाउनेछ। सो अवसरमा विभिन्न द्विपक्षीय भेटवार्ता हुने, परिषद्का उच्चायुक्त, आइएलओका महानिर्देशकलगायतसँग समेत भेट हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

मन्त्री डा पौड्याल नेतृत्वको प्रतिनिधिमण्डल परिषद्को सम्मेलनमा सहभागीपश्चात् यही फागुन १९ गते जेनेभाबाट कतारको दोहा प्रस्थान गर्ने कार्यक्रम छ। उनी दोहामा अतिकम विकसित मुलुकहरु (एलडिसिज) को पाँचौं सम्मेलनमा सहभागी हुनेछिन्।

सो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ। परराष्ट्रमन्त्री डा. पौड्याल यही फागुन २३ गते स्वदेश फर्कनेछिन्।

प्रकाशित मिति: १३:३२ बजे, आइतबार, फागुन १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्