राष्ट्रपतिमा नेम्वाङको पक्षमा मत माग्दै कांग्रेसबाहेक १७ जनालाई ओलीले लेखे पत्र

काठमाडौं, फागुन १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उठाएको उम्मेदवारलाई मत दिन आग्रह गर्दै संसदमा प्रतिनिधित्व गर्ने दल र स्वतन्त्र सांसदहरुलाई पत्र लेखेका छन् ।
ओलीले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मत माग्दै कांग्रेसबाहेकका दल र स्वतन्त्र सांसद गरी १७ जनालाई पत्र लेखेका हुन् ।
ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पठाएको पत्र जगन्नाथ खतिवडाले सामाजिक सञ्जालमा पोस्ट गर्दै राजनीतिक संवादको ढोका खुलेको बताएका छन् । उनले राष्ट्रपतिमा सहयोग गर्न नसकेपनि राजनीतिक संवादको वातावरण निरन्तर रहिरहे एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्ने बताएका छन् ।
‘नेपालका संविधानको मर्म र भावनाअनुरुप माननीय सुवासचन्द नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त यौग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ,’ ओलीले पठाएको पत्रमा भनिएको छ, ‘ राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईँको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु।’
ओलीले यस्ते आशयका पत्र संसदमा रहेका सबै दल र स्वतन्त्र सांसदहरुलाई पठाएका छन् । रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको नेपाली कांग्रेसलाई भने ओलीले पत्र पठाएका छैनन् ।
पौडेलको पक्षमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति, जनमत र राष्ट्रिय जनमोर्चा उभिएका छन्। शुक्रबार बालुवाटारमा बैठक बसी ८ दलले पौडेललाई समर्थन गर्ने सहमति जुटेको थियो ।
बालुवाटारमा ८ दल जुटेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । समर्थन कायम राखेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म कुनैपनि निर्णय गरेको छैन । एमालेले राष्ट्रपतिको निर्वाचनसम्म सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरिसकेको छ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










