राष्ट्रपतिमा सर्वसम्मत बन्ने इच्छा छ, ओलीजीकाे साथ पाउने विश्वासमा छु : पाैडेल
उनले संविधानको रक्षा गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न चुनौती भएको उल्लेख गर्दै त्यसका लागि आफ्नो भूमिका केन्द्रित रहने स्पष्ट पारे।
काठमाडौं, फागुन १३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा सर्वसम्मत बन्ने आफ्नो इच्छा रहेको बताएका छन्।
राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट आज (शनिबार) संसद् भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनअघि सर्वसम्मतिका लागि प्रयास गर्ने बताउँदै एमाले अध्यक्ष केपी ओलीले पनि साथ दिने विश्वास व्यक्त गरे।
‘सर्वसम्मत बन्ने मेरो इच्छा हो। निर्वाचनको दिनसम्म कोसिस रहन्छ। एमाले अध्यक्ष केपी ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो। उहाँ पुरानो साथी हुनुहुन्छ। उहाँले पनि सबैको साझा पदमा सहमति जुटाउन योगदान गर्नुहोला भन्ने विश्वास लिएको छु।’
उनले संविधानको रक्षा गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न चुनौती भएको उल्लेख गर्दै त्यसका लागि आफ्नो भूमिका केन्द्रित रहने स्पष्ट पारे।
‘राष्ट्रियतालाई सबल बनाउने काममा मेरो सहयोग हुन्छ,’ उनले भने, ‘जनताको हातमा आएको सार्वभौम सत्तालाई बलियो गरेर सुरक्षित गर्नुपर्ने अहिलेको आवश्यकता हो।’
उनले संविधानको अक्षरस पालना गर्ने आफ्नो कर्तव्य हुने र नेपालको परिवर्तनलाई संस्थागत गर्दै अघि बढने बताए। उनले आफुलाई रास्वपालगायतका दलले साथ दिने दाबी पनि गरे।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेट सकारात्मक भएको पनि बताए। कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेल रविलाई भेट्न उनकै निवास हात्तिगौंडा पुगेका थिए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










