कांग्रेस नेता पौडेलद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता
आज (शनिबार) अपराह्न संसद् भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
काठमाडाैं, फागुन १३ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा मनोनयन दर्ता गराएका छन्।
आज (शनिबार) अपराह्न संसद् भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
पौडेलले राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनकाे समर्थनमा कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका हुन्। त्यसक्रममा आठै दलका शीर्ष नेताहरूको उपस्थिति थियो।
त्यसक्रममा कांग्रेस सभापित शेरबहादुर देउवालगायत सोही पार्टीका शीर्ष नेताहरू, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको उपस्थिति थियाे।
पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान छन्। त्यस्तै, समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे छन्।
कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका पौडेल गत मंसिर ४ मा तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










