सरकार छाड्ने राप्रपाकाे निर्णय
शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीले सरकार छाड्ने निर्णय गरेको हो।
काठमाडौं, माघ १३ : राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीले सरकार छाड्ने निर्णय गरेको हो। साथै उसले सरकारलार दिएकाे समर्थन पनि फिर्ता लिने निर्णय गरेकाे छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट बाहिरिने निर्णय गरेको र राजीनामा बुझाउन जान लागेको बताए ।
सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।
‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनमा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ,’ राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
बैठकले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। माओवादी अध्यक्ष पुष्पकमल दहाल नेतृत्वको सरकारमा राप्रपाका उप्रधानमन्त्रीसहित ४ मन्त्री छन्।
केहीबेरमै राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने बताइएको छ।
लिङ्देन हालको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री छन् भने ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका थिए।
संघीय सरकारले दिएको समर्थनसँगै सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाले प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई पनि फिर्ता बोलाउने भएकाे छ।
सत्ताको नेतृत्व गरिरहेका माओवादीले शुक्रबार साँझ राष्ट्रपति निर्वाचनका लागि कांग्रेस, नेकपा एस, जसपालगात ८ दलसँग गठबन्धन गरेपछि वर्तमान सत्ता गठबन्धन भत्किएको थियो। सोही कारण राप्रपाले सरकार छाड्ने निर्णय गरेको हो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










