चार दलको बैठकअघि ओलीले भेटेका थिए माधव नेपाल
बालुवाटारबाट ओली नेपाललाई भेट्न सिधै महाराजगञ्ज पुगेका थिए । भेटमा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको बताइएको छ ।
काठमाडौं, फागुन १२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नपाललाई भेट गरेका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरी बालुवाटारबाट निस्किएलगत्तै ओलीले नेपालसँग भेटवार्ता गरेका हुन् ।
बालुवाटारबाट ओली नेपाललाई भेट्न सिधै महाराजगञ्ज पुगेका थिए । भेटमा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको बताइएको छ । जवाफमा माधव नेपालले भने छलफल बाँकी रहेकोले तत्काल निर्णय दिन नसक्ने बताएका छन् ।
यसअघि पनि ओलीले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए। ओलीले प्रस्ताव गरेपछि नै माधव नेपालले कांग्रेस र माअोवादी केन्द्रसँग आफूलाई राष्ट्रपतिमा समर्थन गर्न प्रस्ताव राख्दै आएका छन् ।
प्रधानमन्त्री प्रचण्ड भने ओलीले माधव नेपाललाई उक्साउनुको पछाडि षड्यन्त्रको आशंका गरिरहेका छन् । माधव नेपालसँगको भेटमा उनले सो विषयमा सजग गराउँदै आएका छन् । एमालेको उक्साहटपछि नेता नेपालले चार दलको बैठकमा पनि आफूलाई राष्ट्रपतिको रुपमा सहयोग गर्न प्रस्ताव राख्दै आएका छन् ।
आइतबार बिहान बसेको बैठकमा नेपालको उक्त प्रस्तावलाई कांग्रेसले ठाडै अस्वीकार गरिदिएको थियो । बरु, कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दै अन्य विकल्पहरुमा छलफल गर्न सकिने नेताहरुले बताएका थिए। कांग्रेस र माअोवादी केन्द्रले गठबन्धन ब्युँताउने र माधव नेपाललाई कम्तिमा एक वर्ष प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको थियो ।
बालुवाटारमा अहिले बसिरहेको बैठकबाट लिखित रुपमै ठोस निर्णय गर्ने तयारी छ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










