चार दलको ‘निर्णायक’ बैठक बालुवाटारमा सुरु
प्रचण्ड र ओलीबीचको बैठक लम्बिएपछि चार दलको बैठक निर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको हो ।
काठमाडौं, फागुन १२ : नेपाली कांग्रेससहित चार दलको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक सुरु भएको हो ।
चार दलको बैठक अघि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीन घन्टा भन्दा लामो छलफल गरेका थिए। प्रचण्ड र ओलीबीचको बैठक लम्बिएपछि चार दलको बैठक निर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको हो ।
आजको बैठकले राष्ट्रपतिको उम्मेदवार र पुरानो गठबन्धन बिउँताउने बारे ठोस निर्णय गर्ने बताइएको छ ।
शुक्रबार बिहानको बैठकमा पाँच दलीय गठबन्धन ब्यूँताउने र कांग्रेस नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन मोटामोटी सहमति भइसकेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि राष्ट्रपतिमा दाबी गरेपछि बिहानको बैठकले ठोस निर्णय गर्न नसकेको हो ।
साँझको बैठकले गठबन्धन ब्यूँताएर नेपाललाई पनि एक वर्ष प्रधानमन्त्री दिने गरी लिखित सहमति गर्ने तयारी रहेको कांग्रेसका एक नेताले बताए ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










