सरकारी वेबसाइट सुरक्षित बनाउन माग
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले लामो समयदेखि समस्याका रूपमा रहेको वेबसाइट र डोमेन ह्याकको भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
काठमाडाैं, फागुन १२ : नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले सरकारी वेबसाइट तथा डोमेनको भरपर्दो सुरक्षाको व्यवस्था गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले लामो समयदेखि समस्याका रूपमा रहेको वेबसाइट र डोमेन ह्याकको भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
उनले सर्भर डाउन हुँदा कतिपय गोप्य र संवेदनशील कुरा पनि बाहिर आएको भन्दै यसले साइबर सुरक्षामाथि प्रश्न खडा गरेको उल्लेख गरे।
'गत माघ १४ गते नेपाल सरकारको केन्द्रीय डाटा बैंकमा आक्रमण भएको थियो, जसबाट www.Gov.np सर्भर करिब पाँच घण्टा अवरुद्ध हुँदा झण्डै एक हजार पाँच सय साइट ह्याक भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको पटकपटक सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई यात्रु अलपत्र पर्ने गरेका छन्। धेरै लामो समयदेखि यस्तो समस्या आइरहेकाले समाधानको विकल्प खोजिनुपर्छ', उनले भने।
सांसद राणाका अनुसार त्यसअघि नेपाल प्रहरीको वेबसाइट ह्याक भएको थियो। यसअघि विसं २०७४ असार ३ गते राहदानी विभागमा ह्याकरको समस्या आएको थियो। सोही वर्षको साउन २० गते ६० वटा सरकारी साइट अवरुद्ध भएको थियो।
सरकारी वेबसाइट र डोमेन मात्र नभई निजी क्षेत्रका साइट पनि अवरुद्ध भएको बाहिर आएको भन्दै सांसद राणाले हाल प्रचलनमा रहेको १५ वर्ष पुरानो विद्युतीय कारोबार ऐनको समयसापेक्ष संशोधन जरुरी रहेको उल्लेख गरे।
उनले सूचना प्रविधिको द्रुतगतिको विकास भइरहेका सन्दर्भमा सरकारले यो ऐनलाई समयसापेक्ष बनाई साइबर सुरक्षालाई मजबुद तुल्याउन पनि ध्यानाकर्षण गराए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










