‘राहदानी लिन सहज बनाइयोस्’
सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको आजको बैठकमा सर्वसाधारणका लागि राहदानी लिन सहज बनाउन सरकारले पहल गर्न नसकेको बताए।
काठमाडौं, फागुन १२ : सर्वसाधारणका लागि राहदानी लिन अझै समस्या रहेको विषय संसद्मा उठेको छ।
सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको आजको बैठकमा सर्वसाधारणका लागि राहदानी लिन सहज बनाउन सरकारले पहल गर्न नसकेको बताए।
'पासपोर्ट (राहदानी) लिन एक महिना पर्खनुपरेको छ। यो सरकार गठन भए लगत्तै प्रधानमन्त्री, मन्त्रीहरूले राहदानी विभागमै गएर त्यसबारे चासो देखाउनुभएको थियो। आज पनि लाइन त्यत्तिकै लामो छ। पासपोर्ट लिनका लागि रातभरि लाइन बस्नुपर्ने स्थिति कहिलेसम्म हो?' उनले भने।
पासपोर्ट लिनका लागि महँगो शुल्क रहेको पनि उनले बताउनुभयो। 'करिब रू १४ सय लागतमा बनेको पासपोर्ट लिनका लागि २० हजारसम्म तिर्नुपर्ने अवस्था छ। एउटा गरिबका लागि राज्यले नै यस्तो महँगो शुल्क लिन कति जायज हो?' उनले भने।
दूरदराजका मानिसले अहिले पासपोर्ट लिनका लागि रु एक लाखसम्म खर्च गर्नुपर्ने अवस्था रहेकाले त्यसमा सहजीकरण गरिनुपर्ने सांसद खतिवडाको भनाइ छ। रातो पासपोर्ट लिनेका लागि पनि शुल्क तिराउनुपर्ने उनले संसद्मा धारणा राख्नुभयो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










