Kathmandu Press

ओली बाहिरिएपछि कांग्रेस लगायत दलका नेताहरु बालुवाटारमा

दुई नेताहरु करिब तीन घन्टा छलफलमा बसेपनि के निष्कर्ष निस्कियो भन्ने विषय सार्वजनिक भएको छैन ।
ओली बाहिरिएपछि कांग्रेस लगायत दलका नेताहरु बालुवाटारमा
फाइल तस्बिर

काठमाडौं, फागुन १२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् । 

राष्ट्रपतिको उम्मेदवारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न दिउँसो बालुवाटार पुगेका ओली केहीबेर अघि मात्रै बाहिरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको आजको बैठकलाई निर्णायक भनिएको थियो । दुई नेताहरु करिब तीन घन्टा छलफलमा बसेपनि के निष्कर्ष निस्कियो भन्ने विषय सार्वजनिक भएको छैन ।

ओली बाहिरिएलगत्तै पुरानो गठबन्धन दलको बैठक बस्ने तयारी भएको छ । ‘पाँच बजे बस्ने भनिएपनि प्रधानमन्त्री र एमाले अध्यक्षबीचको छलफल लम्बियो, त्यसकारण केही ढिला हुन सक्छ,’ शर्माले काठमाडौं प्रेससँग भने । 

पुरानो गठबन्धनले पनि अब बस्ने छलफलबाट ठोस निर्णय गर्ने भनेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीबीच राष्ट्रपतिको उम्मेदवारबारे सैद्धान्तिक सहमति भइसकेको र ठोस निर्णय मात्रै गर्न बाँकी रहेको नेताहरुले बताएका छन् । 

शुक्रबार बिहान बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेललाई बनाउने कि एकीकृत समाजवादीका माधवकुमार नेपाललाई बनाउने भन्ने विषयमा छलफल भएको थियो । कांग्रेसले माधव नेपाललाई समर्थन नगर्ने बताएपछि पौडेलको पक्षमा सहमति गर्ने प्रयासस्वरुप बैठक बस्न लागिएको छ । 

पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने र पुरानै गठबन्धन बनाएर माधव नेपाललाई पनि एक वर्ष प्रधानमन्त्री चलाउन दिने विषयमा मोटामोटी छलफल भएको बताइएको छ । दिनभरको दौडधुप र बैठकले साँझसम्म ठोस निर्णय गर्ने नेताहरुको आकलन छ । 
 

प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्