दिलीप महतोकाे हत्याका दाेषीलाई २५ वर्ष र सहयाेगीलाई साढे १२ वर्ष कैद सजाय
उनीहरुको सम्पत्तिबाट क्षतिपूर्ति असुल नभए सरकारको विपद कोषबाट दिलीपको परिवारजनलाई उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ।
जनकपुरधाम, फागुन १२ : धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलीप महतोको हत्यामा दोषी ठहरिएका तीन जनालाई कैद सजाय सुनाइएको छ।
अवैध उत्खननको विरोध गर्दा मनसायपूर्वक पर्यावरण अभियन्ता दिलीपको हत्या गरेको कसुरमा जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५–२५ वर्ष कैद र ५–५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला सुनाएको हो। त्यस्तै हत्यामा संलग्न जितेन्द्र महतोलाई भने १२ वर्ष कैद सजाय र २ लाख ५० हजार जरिवाना सुनाइएको छ।
विपीन र मुनीन्द्र फागुन २ गते नै दोषी ठहर भएका थिए भने जितेन्द्रलाई कसुरदार ठहराए पनि शुक्रबार मात्र फैसला निर्धारण भएको हो। उनीहरुको सम्पत्तिबाट क्षतिपूर्ति असुल नभए सरकारको विपद कोषबाट दिलीपको परिवारजनलाई उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ।
गत फागुन ३ गते जिल्ला अदालतले ७ अभियुक्त मध्ये विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर र चारजनालाई सफाइ दिएको थियो। हत्याका अभियुक्त उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार महतोलाई भने फागुन ३ गते सफाइ दिइएको छ।
२०७६ पुस २५ गते औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलिपको निर्मम हत्या भएको थियो।
सातजना मिलेर दिलीपलाई फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरेर हत्या गरेको सरकारी वकिलले दाबी गरेको छ । जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा आक्रमणपछि बेहोस भएर ढलेका दिलीपलाई ना७ख ६४१३ नम्बरको टिपरको पछाडि चक्काले टाउकोमा किचेर सडक दुर्घटनाको रूप दिने प्रयास गरिएको उल्लेख छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










