Kathmandu Press

स्ववियु निर्वाचन तयारी तीव्र पार्दै नेविसंघ

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेसँगै  नेविसंघले स्ववियु निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन तयारीलार्ई तीव्रता दिएको हो।
स्ववियु निर्वाचन तयारी तीव्र पार्दै नेविसंघ

काठमाडाैं, फागुन १२ : नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी चैतमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउने गरी तयारीलाई तीव्रता दिएको छ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेसँगै  नेविसंघले स्ववियु निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन तयारीलार्ई तीव्रता दिएको हो। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आगामी स्ववियु निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन विभिन्न पाँच समिति गठन गरेर चुनावी प्रचारलाई तीव्रता दिएको बताए।

उनका अनुसार नेविसंघले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयारी, प्रचारप्रसार, प्रशिक्षण, विद्यार्थी समन्वय र सुरक्षा समन्वय समिति गठन गरेको हो। क्याम्पसदेखि विश्वविद्यालयसम्ममा प्रतिनिधि पठाउने कुरा अगाडि बढिसकेको उनले जानकारी दिए। नेविसंघले जिल्ला समिति गठनलाई समेत तीव्रता दिएको छ।

लामो समयपछि हुन लागेको निर्वाचनमा यही फागुन १९ गते विद्यार्थी संघसङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ। फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ।

यस्तै, फागुन २८ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ। स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरेको छ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुन सकेको छैन। प्रत्येक दुईदुई वर्षमा हुने निर्वाचन विसं २०६५ सालयता नियमित हुनसकेको छैन। हाल देशभर त्रिविका ६२ आङ्गिक र एकहजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्।

प्रकाशित मिति: १५:४२ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्