Kathmandu Press

संघीयतालाई सुदृढ बनाउन सबै दल एकजुट हुनुपर्छ : सांसद शर्मा

संघीयतालाई सुदृढ बनाउन सबै दल एकजुट हुनुपर्छ : सांसद शर्मा
फाइल तस्बिर

काठमाडौं, फागुन १२ : नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संवर्द्धन गर्दै त्याग र बलिदानबाट प्राप्त संविधानको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको यात्रामा अगाडि लैजान सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै उनले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद निर्माणका लागि साझा सहमति जुटाउनुपर्नेमा जोड दिए। उनले जनताको घरदैलोको सरकारका रुपमा रहेको स्थानीय सरकारलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे।

शर्माले सङ्घीयतालाई सुदृढ बनाउन विभिन्न ऐन निर्माणको कामलाई तत्काल अगाडि बढाउनुपर्ने र प्रदेश सरकारलाई सबल र सक्षम बनाउन सरकारको ध्यानाकर्षण गराए। आवधिक योजनाको लक्ष्य पूरा हुन नसकेको र अनेकन कारणले समस्या देखिएको भन्दै कार्यान्वयनमा देखिएका जटिलता हटाउनुपर्ने उल्लेख गरे। 

जमिन बाँझो हुने, अपार प्राकृतिक स्रोत खेर गएको, युवा विदेशिन बाध्य भएको तथ्य पेश गर्दै उनले उपयोग हुन नसकेको स्रोत साधनको सदुपयोग गर्दै समृद्धिको महाअभियान सुरु गर्नुपर्ने बताए। लघुवित्तको बदमासीका कारण नागरिकले दुःख पाएकाले तत्काल सरकारले समस्या समाधानका लागि पहल लिन पनि माग गरे। 

उनले सन्तुलित परराष्ट्र नीतिको बढावा दिनुपर्नेमा जोड दिए। संवैधानिक राष्ट्रपतिलाई कार्यकारी राष्ट्रपतिको चयन गर्ने जसरी बहस भइरहेकामा आपत्ति प्रकट गर्दै उनले राष्ट्रिय सहमतिका आधारका विषयको टुङ्गो लगाउनुपर्ने बताए। 

प्रकाशित मिति: १५:१७ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्