Kathmandu Press

बालुवाटार पुगे ओली, राष्ट्रपति र गठबन्धनबारे प्रधानमन्त्रीसँग निर्णायक छलफल 

आजको छलफल सत्ता गठबन्धनको भविष्य र राष्ट्रपतिको उम्मेदवारमा केन्द्रीत रहने छ ।
बालुवाटार पुगे ओली, राष्ट्रपति र गठबन्धनबारे प्रधानमन्त्रीसँग निर्णायक छलफल 
फाइल तस्बिर

काठमाडौं, फागुन १२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । राष्ट्रपतिको उम्मेदवार र सत्ता गठबन्धनबारे निर्णायक छलफल गर्न ओली केहीबेरअघि बालुवाटार पुगेका हुन् । 

अहिले प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेससहित पुरानो गठबन्धनमा रहेका चार दलसँग छलफल गरेका थिए । 

चार दलसँगको छलफलपछि प्रधामन्त्रीले ओलीसँग छलफल गर्न लागेका हुन् । आजको छलफल सत्ता गठबन्धनको भविष्य र राष्ट्रपतिको उम्मेदवारमा केन्द्रीत रहने छ । कांग्रेसलगागतका दलका शीर्ष नेताहरुसँको छलफलबाट सत्ता गठबन्धनक करिब करिब भत्किएको चर्चा सुरु भइसकेको छ । 

यद्यपि, सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेको कदम के हुन्छ भन्नेबारेमा भने अहिलेसम्म केहीपनि खुलेको छैन । एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउनेबाहेक कुनैपनि निर्णय गरेको छैन। 

एमालेका दोस्रो तहका नेताहरुले राष्ट्रपतिको निर्वाचनबाटै अहिलेको सत्ता गठबन्धनको भविष्य कोर्ने बताउँदै आइरहेका छन् । केही दिनअघि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष रहेका इश्वर पोखरेलले प्रधानमन्त्री प्रचण्डको निर्णयले गठबन्धनको भविष्य निर्धारण गर्ने बताएका थिए । 

एमाले अध्यक्ष अ‍ोलीले गठबन्धनलाई जोगाउनका लागि प्रधानमन्त्री समक्ष विभिन्न व्यक्तिहरुलाई राष्ट्रपतिको प्रस्ताव राखेका थिए । तर, ओलीले प्रस्ताव गरेको कुनैपनि व्यक्तिमा प्रधानमन्त्री सहमत नभएपछि माधव नेपालको नाम प्रस्ताव गरेका थिए । 

एमालेले प्रस्ताव गरेपछि माधव नेपालले पनि राष्ट्रपति बन्न कांग्रेस र माओवादीसँग लविङ गर्दै आएका छन् । आज बसेको बैठकमा कांग्रेसबाट रामचन्द्र पौडेल र एकीकृत समाजवादीबाट माधवकुमार नेपालको प्रस्तावमा छलफल भएको थियो। दुई प्रस्तावमा छलफल गरी निर्णय गर्न आज साँझ पुनः चार दलको बैठक बस्दै छ । 

राष्ट्रपतिबारे प्रधानमन्त्रीको अन्तिम धारणा बुझ्न एमाले अध्यक्ष अ‍ोली बालुवाटार पुगेका हुन् । भोलि राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता हुँदै छ ।  
 

प्रकाशित मिति: १५:०० बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्