राष्ट्रपति निर्वाचनमा कांग्रेस-एमालेबीच सहकार्य हुन सक्छ : ज्ञवाली
राष्ट्रपतिको उम्मेदवारको मनोनयन गर्ने अघिल्लो दिन एमाले ग्रास रुट अभियानको तयारीमा पाँचथरको फिदिम पुगेका ज्ञवालीले आसन्न राष्ट्रपति निर्वाचनमा कांग्रेस र एमालेको सहकार्य हुन सक्ने सम्भावना रहेको बताएका हुन्।
पाँचथर, फागुन १२ : राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा दलहरूको दौडधुपले तीव्रता पाएको छ। एमाले र कांग्रेसको बीचमा रहेर माओवादीले राष्ट्रपतिको उम्मेदवारका लागि विभिन्न सम्भावनाबारे छलफल चलाइरहेका बेला एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले फरक सम्भावनाबारे उल्लेख गरेका छन्।
राष्ट्रपतिको उम्मेदवारको मनोनयन गर्ने अघिल्लो दिन एमाले ग्रास रुट अभियानको तयारीमा पाँचथरको फिदिम पुगेका ज्ञवालीले आसन्न राष्ट्रपति निर्वाचनमा कांग्रेस र एमालेको सहकार्य हुन सक्ने सम्भावना रहेको बताएका हुन्।
ज्ञवालीले आज (शुक्रबार) बिहान पत्रकारहरुसँग कुरा गर्दै मुलुकमा स्थिरता र भूराजनीतिक चलखेल रोक्न मुलुकका प्रमुख दलबीचको सहकार्य अपरिहार्य हुने चर्चा गरे। ‘कांग्रेस सकरात्मक भएर संवादमा आए राष्ट्रपति निर्वाचनमा सहकार्य हुने सम्भावना यथावत छ,’ उनले भने।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएको आरोप ज्ञवालीले लगाए। कांग्रेसले प्रधानमन्त्री नदिएपछि एमालेले उद्धार गरे पनि दाहाल सहमतिविपरीत अघि बढेपछि आफूहरु सशंकित भएको उनको भनाइ थियो। सरकार गठनका बेला माओवादी एमालेलाई राष्ट्रपति दिनेमा सहमत रहे पनि अहिले भड्किएको उनले बताए।
मंसिर ४ को मतपरिणाम आएलगत्तै एमालेले औपचारिक रुपमा कांग्रेससँग देशको हितका पक्षमा छलफल गर्न चाहे पनि सफल हुन नसकेको उनले बताए। त्यतिबेला कांग्रेस नेताहरुले अस्वीकार गर्दा माओवादीलाई साथ दिनुपरेको पनि उनले बताए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










