Kathmandu Press

घर बहाल समस्या समाधानका उजुरी धेरै

महानगरपालिका–२९ डिल्लीबजारमा गठन भएको मेलमिलाप केन्द्रमा घर भाडामा लिएर वर्षौंदेखि तालाबन्दी भएको, बहाल नतिरेको, बहालमा बस्नेलाई निकाल्नुपर्नेलगायत समस्या बढी आएको हो।
घर बहाल समस्या समाधानका उजुरी धेरै

काठमाडौं, फागुन १२ : काठमाडौं महानगरपालिकाले वडा वडामा बनाएको मेलमिलाप केन्द्रमा घर बहालका समस्या समाधान गर्नेको माग बढ्न थालेको छ। 

महानगरपालिका–२९ डिल्लीबजारमा गठन भएको मेलमिलाप केन्द्रमा घर भाडामा लिएर वर्षौंदेखि तालाबन्दी भएको, बहाल नतिरेको, बहालमा बस्नेलाई निकाल्नुपर्नेलगायत समस्या बढी आएको हो।

वडा सदस्य रेणु श्रेष्ठको संयोजकत्वमा गठन भएको केन्द्रमा आएका सयौँ उजुरीमध्ये घर भाडासम्बन्धी विषय धेरै रहेको छ। कोरोना महामारीका बेला डेरा छोडेर हिँड्ने अझै नफर्किएकाले कोठा खाली गर्ने निवेदन पनि उत्तिकै रहेको संयोजक श्रेष्ठले जानकारी दिइन्। 
 
यस वडाका धेरै घरबेटीको आयआर्जनको स्रोत नै डेरा भाडा भएकाले पनि यस्तो निवेदन धेरै आएको उनले जानकारी दिइन्। वडामा चार महिनाअघि केन्द्र गठन गरेर सामान्य समस्यालाई वडामै समाधान गर्न थालिएको हो। वडामा मिलाउन नसकिएका समस्या मात्र महानगरपालिकाको न्यायिक समितिमा पठाउने गरेको वडाध्यक्ष कुश ढकाल बताउँछन्। 

सामान्य समस्या वडामै समाधान हुन थालेपछि स्थानीयवासी पनि खुसी छन्। महानगरपालिकामा जान दूरी धेरै नभए पनि न्यायिक समितिमा धेरै उजुरी पर्ने गरेकाले धेरै समय लाग्ने गरेका कारण सामान्य समस्या वडामै समाधान हुँदा खुसी लागेको स्थानीय रमिला मिजारले बताए।

प्रकाशित मिति: १२:११ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्