Kathmandu Press

सिंहदरबारमा माओवादी, एकीकृत समाजवादी र जसपाको बैठक सुरु 

बैठकपछि आजै कांग्रेससँग पनि छलफल गर्ने तयारी छ ।
सिंहदरबारमा माओवादी, एकीकृत समाजवादी र जसपाको बैठक सुरु 

काठमाडौं, फागुन ११ : राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न तीन दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो । 

छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र जनार्दन शर्मा उपस्थित छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भूसाल, प्रकाश ज्वाला र जसपबाट उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् । 

आजको बैठकमा राष्ट्रपतिमा साझा उम्मेदवार तय गर्ने एजेन्डा रहेको छ । तीन दलको बैठकअघि प्रधानमन्त्री प्रचण्डले माधव नेपाल र उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। 

बैठकपछि आजै कांग्रेससँग पनि छलफल गर्ने तयारी छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवाबीच पुरानो गठबन्धन बिउताउने विषयमा अनौपचारिक सहमति भएको चर्चा छ । त्यसबारे ठोस निर्णय गर्न आज पाँच दलीय पुरानो गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल गर्ने तयारी छ । 

प्रकाशित मिति: १८:१९ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्