गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा पुगेका छैनौं : नारायणकाजी श्रेष्ठ
'सबै पार्टीसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्ने कुरा हो । तर, हामी गठबन्धन परिवर्तन गर्ने भनेर निष्कर्षमा पुगिसकेका छैनौं'
काठमाडौं, फागुन ११ : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा नपुगेको बताएका छन् ।
बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुसँगको भेटवार्तापछि पत्रकारहरुसँगको कुराकानीमा श्रेष्ठले राष्ट्रपतिको सेरोफेरोमा छलफल भइरहेको तर, तत्काल गठबन्धन परिवर्तन गर्ने निष्कर्षमा पुगिनहालेको बताएका हुन् ।
उनले आजै फेरि छलफल गर्नेगरी भेटवार्ता सकिएको जानकारी दिए।
श्रेष्ठले राष्ट्रपतिको विषयमा कांग्रेस, एमालेसहित सबै दलहरुसँग प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता र छलफल गरिरहेको बताउँदै सहमतिबाटै राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने पक्षमा रहेको बताए।
‘सबै पार्टीसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्ने कुरा हो । तर, हामी गठबन्धन परिवर्तन गर्ने भनेर निष्कर्षमा पुगिसकेका छैनौं,’ उनले भने ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










