सिंहदरबारमा प्रचण्ड–माधवबीच आधा घन्टा छलफल, के–के भयो कुराकानी ?
हामीसँग विभिन्न विकल्पहरु छन्, ती विकल्पहरुमा छलफल गरिरहेका छौं, तीमध्ये देशलाई हित हुने विकल्प रोज्छौं : माधव नेपाल
काठमाडौं, फागुन ११ ः राष्ट्रपतिको उम्मेदवारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन् ।
बिहीबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र माधव नेपालबीच आधा घन्टा छलफल भएको हो ।
छलफल सकाएर बाहिरिने क्रममा प्रधानमन्त्री तथा माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको टुंगो लागिनसकेको बताएका छन् । शुक्रबार बालुवाटारमा कांग्रेस नेताहरुसँगको छलफलपछि पुरानै गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको चर्चा छ ।
यसबारेमा प्रधानमन्त्री प्रचण्डलाई पत्रकारहरुले सोधेको प्रश्नमा भने उनले अझै टुंगो नभएको बताए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने राष्ट्रपतिको उम्मेदवारको विषयमा विभिन्न कोणमा छलफल भएको जानकारी गराए । अहिले छलफल जारी रहेको र तत्काल कुनै निष्कर्शमा नपुगेको उनले बताए ।
‘हामीसँग विभिन्न विकल्पहरु छन्, ती विकल्पहरुमा छलफल गरिरहेका छौं, तीमध्ये देशलाई हित हुने विकल्प रोज्छौं,’ अध्यक्ष नेपालले पत्रकारहरुसँग भने ।
आजको छलफलमा माअोवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भूसाल पनि सहभागी थिए ।
माअोवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारका सम्बन्धमा पुरानो गठबन्धनमा रहेका दलहरुलाई छुट्टाछुट्टै छलफल गरी आज साँझसम्म संयुक्त छलफल गर्ने तयारी गरेको छ । सहमति जुटेको अवस्थामा आजै औपचारिक रुपमा पुरानो गठबन्धन ब्युँताउने तयारी छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










