राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावलीमा दाबी विरोधको उजुरी आज
राष्ट्रपति निर्वाचनमा संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा ७ वटै प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन्। राष्ट्रपति निर्वाचनका लागि स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार सार्वजनिक गरेको मतादाता नामावलीमा संघीय संसद्का ३ जना सांसद बाहेकको नाम छ।
काठमाडौं, फागुन ११ : राष्ट्रपति निर्वाचनका लागि सार्वजनिक भएको मतदाता नामावलीमा दाबी विरोधको उजुरी दिने आज अन्तिम दिन हो। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि बुधबार मतादाता नामावली सार्वजनिक गरेको थियो।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा ७ वटै प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन्। राष्ट्रपति निर्वाचनका लागि स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार सार्वजनिक गरेको मतादाता नामावलीमा संघीय संसद्का ३ जना सांसद बाहेकको नाम छ।
राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का ३३१ र प्रदेश सभाका ५५० गरी कूल ८८१ जना मतदाता रहने छन्। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका ३ सदस्यको नाम नामावलीमा छैन।
प्रतिनिधि सभाका तत्कालीन सदस्य रवि लामिछाने नागरिकता विवादको मुद्दामा दोषी ठहर भइ सांसद पदबाट पदमुक्त भइसकेका छन्। त्यस्तै, नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ र नागरिक उन्मुक्तिका सांसद् लक्ष्मण चौधरी निलम्बनमा परेकाले मतदाता नामावलीमा नरहेका हुन्। आयोगले जारी गरेको मतदाता नामावलीको दाबी विरोधको उजुरी दिने समय बिहीबार मध्याह्न १२ बजेसम्म छ।
प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि बिहीबार १२ बजेसम्म दरखास्त दिन पाउनेछन्। यस्तै, नाम समावेश भएका व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।
उजुरी आएमा त्यस उपर छानबिन गरी आयोगले फागुन १२ गते अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। नेपालको तेस्रो राष्ट्रपतिका लगि फागुन १३ गते मनोनयन दर्ता गर्ने र २५ गते निर्वाचन हुने कार्यतालिका छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










