राष्ट्रपति निर्वाचनको राप र ताप : सहमति जुटाउन शीर्ष नेताको भेटघाट बाक्लियो
केही बेरअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।
काठमाडौं, फागुन १० : राष्ट्रपतिमा सहमति जुटाउन विभिन्न दलका शीर्ष नेताहरुविच भेटघाट बाक्लिएको छ।
केही बेरअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।
एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा कांग्रेसका वरिष्ठ नेता पौडेल भेटका लागि पुगेका हुन्। नेकपा एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेलगत्तै कांग्रेस नेता पौडेलले नेपालसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यसैबीच केही समयअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उक्त पार्टीका नेताद्वय बेदुराम भुसाल र घनश्याम भुसाललाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बारही पुगेका छन्।
राष्ट्रपतिका लागि छलफल गरी सहमती जुटाउन नेकपा एसका दुई शीर्ष नेतालाई लिएर नेपाल देउवा निवास पुगेका हुन्।
बुधबार भएको पार्टी सचिवालय बैठकमा नेपालले केपी शर्मा ओलीबाट पार्टी एकताको प्रस्ताव राखेको तर त्यसमा विश्वास नगरेको बताएका थिए।
कांग्रेस सभापति देउवासँग बुधवार नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि राष्ट्रपतिका बिषयमा छलफल भएको थियो। यादव देउवा निवासबाट बाहिरिएलगत्तै नेपाल दुईजना नेतासहित पुगेका हुन्।
आजै बिहान लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि कांग्रेस सभापति देउवालाई भेटेका थिए। सत्ता गठबन्धनका दुई शीर्ष नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच पनि भेटवार्ता भएको थियो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










