Kathmandu Press

तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउनुपर्छ : डा. महत

'व्यापार घाटा न्यूनीकरण गर्न विद्युत् उत्पादन वृद्धि गर्नुपर्ने छ। यातायात र खाना पकाउने प्रविधिलाई विद्युतमा रुपान्तरण  गर्न जरुरी छ।'
तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउनुपर्छ : डा. महत

काठमाडौं, फागुन १० : नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले मुलुकको गतिशील मार्गचित्र कोर्नका लागि तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न विद्युत् उत्पादन वृद्धि गरी यातायात र खाना पकाउने प्रविधिलाई विद्युत्मा रुपान्तरण गर्न आवश्यक रहेको बताए। 

'२०४६ पछि हामीले पञ्चायतकालमा दुई प्रतिशतमा रहेको आर्थिक वृद्धि पहिलो चरणमा सात प्रतिशत पुर्‍यायौँ। अब दोस्रो चरणको आर्थिक वृद्धिको आवश्यकता छ। त्यसतर्फै सरकारले काम गर्नुपर्ने छ', उनले भने, 'व्यापार घाटा न्यूनीकरण गर्न विद्युत् उत्पादन वृद्धि गर्नुपर्ने छ। यातायात र खाना पकाउने प्रविधिलाई विद्युतमा रुपान्तरण  गर्न जरुरी छ।'

बर्खायाममा विद्युत् उत्पादन बढेपनि हिउँदमा भारतबाट आयात गर्नुपर्ने अवस्था विद्यमान रहेको भन्दै ठूला जलाशययुक्त आयोजना निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण गराए। 

'बर्खायाममा मात्र विद्युत् उत्पादन बढेर हुँदैन, हिउँदमा अहिले पनि विद्युत् अभाव छ', सांसद महतले भने, 'बर्खामा बेचेको बिजुलीबाट आएको खर्च हिउँदमा विद्युत् किनेर सकिएको छ।'

हिउँदमा विद्युत्मा आत्मनिर्भर हुन जलाशययुक्त आयोजनाको तत्काल निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले विद्युत्मा आत्मनिर्भर भएसँगै व्यापार घाटा कम हुने, विदेशी मुद्रा सञ्चिति बढ्ने बताए। विद्युत् उत्पादन वृद्धि गरी यसको खपत र निर्यात गरेर वैदेशिक रोजगारीमा आधारित अर्थतन्त्रालाई सुधार गर्न सकिने उनको भनाइ छ। 

प्रकाशित मिति: १६:४३ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्