Kathmandu Press

पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी

पर्वतको जलजला गाउँपालिका-२ पूर्णगाउँमा निर्माण भएको आदिबराह मन्दिरको आज उद्घाटन गर्दै उनले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउन सकिने बताए। 
पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी

पर्वत, फागुन १० : राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताएकी छन्।

पर्वतको जलजला गाउँपालिका-२ पूर्णगाउँमा निर्माण भएको आदिबराह मन्दिरको आज उद्घाटन गर्दै उनले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउन सकिने बताए। 

कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवं रोजगारीको सिर्जना गर्दै र स्वावलम्बी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उनकाे भनाइ छ।

'सार्वजनिक रुपमा ध्यान पुग्न नसकेका धेरै ऐतिहासिक मठमन्दिर र पर्यटकीयस्थल मुलुकका विभिन्न स्थानमा छरिएर रहेका छन्', उनले भने, 'स्थानीय, प्रदेश र सङ्घीय सरकारले अग्रसरता लिएर यस्ता स्थलको संरक्षण, संवर्द्धन र प्रचार गरेको खण्डमा त्यसको प्रत्यक्ष लाभ स्थानीय जनसमुदायलाई हुनेछ।'
    
जलजलाको जैविक विविधतायुक्त कालञ्जर पहाड, मल्लाज दरबार, फलामेडाँडालगायत पर्यटकीय, धार्मिक र ऐतिहासिकस्थलको पूर्वाधार विकासमा ध्यानाकर्षण भएको राष्ट्रपति भण्डारीले बताइन्।

'प्रसिद्ध बराहताल संरक्षणका लागि समुदायस्तरबाट भएको प्रयासका लागि धन्यवाद दिन चाहन्छु', उनले भनिन्, 'पर्वत जिल्लाका पर्यटकीयस्थलको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिने प्रशस्त सम्भावना रहेको अनुभूत भएको छ।'

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मुख्य सचिव शंकरदास बैरागी, संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जलजला गाउँपालिकालाई धार्मिक पर्यटकीय गन्तव्य र कृषिको माध्यमबाट विकसित बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए। 

लामिछाने र घर्ती क्षेत्री समुदायले रु. एक करोड ५० लाखको लागतमा दुईवटा मन्दिर निर्माण गरेको आयोजकले जनाएका छन्। मन्दिर पुनःनिर्माणको मुख्यदाता रवीन्द्रजङग लामिछनेले रु. २५ लाख सहयोग प्रदान गरेको निर्माण समितिका नवीन जिसीले जानकारी दिए।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले राष्ट्रपतिको भ्रमणले पर्यटकीय सम्भावनायुक्त बराहताल र हम्पाल कालञ्जर क्षेत्रको प्रचार तथा पहिचान दिलाउन सहयोग पुगेको बताए। 

समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ। करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरि हिमाल रहेका छन्।

जनैपूर्णिमामा लाग्ने विशेष मेलामा पर्वतसहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायतका ठाउँबाट भक्तजन आउने गर्दछन्।

मागेको वर पूरा हुने विश्वास गर्ने गरिएको बराह क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाइएको जलजला-२ का वडाअध्यक्ष प्रकाश जिसीले बताए।

प्रकाशित मिति: १६:११ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्