Kathmandu Press

डीआइजी अशोक सिंहले दिए राजीनामा 

जन्ममितिकाे सम्बन्धमा प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेपछि डीआइजी सिंहले राजीनामा दिएका हुन् । 
डीआइजी अशोक सिंहले दिए राजीनामा 

काठमाडौं, ,फागुन १० : प्रहरी महानिरीक्षकको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआइजी) अशोक सिंहले राजीनामा दिएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालय पुगेर डीआइजी सिंहले राजीनामा दिएका हुन् । उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख थिए । 

प्रहरीमा भावी महानिरीक्षक बन्ने रस्साकस्सी चलिरहेको समयमा डीआइजी सिंहको जन्ममितिकाे सम्बन्धमा विवाद सार्वजनिक भएको हो । उनको नागरिकतामा  र प्रहरी प्रधान कार्यलयको विवरणमा जन्ममिति फरक परेको पाइएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि आन्तरिक छानविन थालेको छ । 

प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेपछि डीआइजी सिंहले राजीनामा दिएका हुन् । 

प्रहरी सेवामा प्रवेश गर्दा सिंहले पेस गरेको नागरिकतामा उनको जन्ममिति २०२४ जेठ मात्रै उल्लेख छ । उनको शैक्षिक प्रमाणपत्रमा भने  १६ पुस २०२५ जन्ममिति उल्लेख छ ।

प्रहरी नियमावलीमा सेवा प्रवेश गर्दा सम्बन्धित व्यक्तिले  पेश गरेको नागरिकता प्रमाण पत्रमा वर्ष वा संवत् मात्रै उल्लेख भए नागरिकता र शैक्षिक प्रमाणपत्र जारी भएको मितिलाई जन्मको मिति र गते कायम हुने व्यवस्था छ ।

यस अनुसार नागरिकताको उमेर कायम भएको भए सिंहले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को उमेर हदका कारण २२ जेठ २०७९ मै अवकाश पाउनुपर्ने हो । तर, सिटरोलमा शैक्षिक प्रमाण पत्रको उमेर उल्लेख भएका कारण सिंह डीआईजीमा बढुवा भएका थिए ।

सिंहको राजीनामासँगै अब भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा मुख्य प्रतिष्पर्धी देखिएका छन् ।
 

प्रकाशित मिति: १५:२५ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्