फरार सांसद लक्ष्मी चौधरी कोइरी पनि मतदाता नामावलीमा समेटिए
गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती थुतेर हत्या गरेको आरोप लागेको छ।
काठमाडौं, फागुन १० : निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि आज (बुधबार) सार्वजनिक गरेको मतदाता नामावलीमा फरार सांसद लक्ष्मी चौधरी कोइरीको पनि नाम समेटिएको छ।
गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती थुतेर हत्या गरेको आरोप लागेको छ। उच्च अदालतले कोइरीलाई फरारको सूचीमा राख्दै पक्राउ गर्न र अदालत पेस गर्न भने पनि प्रहरीले पक्राउ गरेको छैन।
निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरले भने संसद सचिवालयले उनलाई निलम्बन नगरेका कारण उनको नाम मतदाता नामावलीमा समावेश भएको बताएको छ। मतदाता नामावलीका सम्बन्धमा दाबी, विरोध र उजुरी गर्ने समय सुरुभएको र उनीविरुद्ध उजुरी आए छलफल हुने पनि आयोगको भनाइ छ।
निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदका ३३१ सांसद र प्रदेशसभाका ५५० सांसदको नाम मतदाता नामावलीमा समेटेको छ।
संघीय संसदतर्फ ३३४ सांसदमध्ये चितवन–२ रिक्त छ। त्यस्तै कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा रहेकाले उनले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउनेछैनन्। कैलालीबाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम पनि मतदाता नामावलीमा समावेश नभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। जबकि प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट उनले कैद मिनाहा पाएक छन्।
मतदाता नामावलीमाथि दाबीविरोधको उजुरीमाथि फागुन १२ गते दिउँसो ३ बजेसम्म छानबिन गरी दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यातालिका छ। राष्ट्रपतिको पदका लागि फागुन १३ गते मनोनयन दर्ता र फागुन २५ मा मतदानको कार्यतालिका छ। उपराष्ट्रपति पदका लागि भने फागुन २७ गते मनोनयन दर्ता र चैत गते मतदानको कार्यक्रम छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










