महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने लोसपाको प्रस्तावमा देउवाले के भने?
लोसपालाई देउवाको जवाफ : राष्ट्रपतिबारे पार्टीले निर्णय नगरी मैले भन्न सक्ने अवस्था छैन
काठमाडौं, फागुन १० : लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग छलफल गरेको छ ।
बुधबार बिहान देउवा निवास धुम्बाराही पुगेर लोसपाका नेताहरुले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनेबारे छलफल गरेका हुन् ।
छलफल सकेर बाहिरिने क्रममा लोसपाका नेता शरतसिंह भण्डारीले आफूहरुको प्रस्तावमा देउवाले सकारात्मक जवाफ दिएको बताए । देउवाले सहमतिको परिस्थिती बन्दा महन्थ ठाकुर पनि राष्ट्रपतिका लागि उपयुक्त पात्र रहेको जवाफ दिएको नेता भण्डारीले बताए ।
तर, पार्टीले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा निर्णय नगरेकोले तत्काल आफूले निर्णय दिन नसक्ने जवाफ दिएका छन् । एउटै गठबन्धनमा रहेका कारण यसबारेमा पार्टीभित्र छलफल गर्ने आश्वासन पाएको भण्डारीले बताए ।
‘यो प्रस्तावलाई पनि राखेर सहमतिको परिस्थिती बन्यो भने उहाँ पनि उपयुक्त पात्र हो । पार्टीले निर्णय नगरी मैले भन्न सक्ने अवस्था छैन,’ देउवाको भनाई उदृध गर्दै नेता भण्डारीले भने ।
लोसपाले पार्टीबाटै निर्णय गरेर राष्ट्रपतिमा अध्यक्ष ठाकुरलाई अगाडि सार्ने र त्यसका लागि अन्य दलसँग छलफल गर्ने नीति लिएको छ । सोही अनुसार मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि लोसपाका नेताहरुले भेटवार्ता गरेका थिए ।
‘हामीले प्रधानमन्त्रीसँग पनि हाम्रो पार्टीको अध्यक्षलाई राष्ट्रपति बनाउनेबारे छलफल ग¥यौं, उहाँहरु पनि सकारात्मक नै देखिनुभएको छ । छलफल गर्दै जाऔं भन्ने् जवाफ पाएका छौं,’ नेता भण्डारीले भने ।
भण्डारीले तीन ठूला दलका नेतृत्वले सकारात्मक उत्तर दिएकाले महन्थ ठाकुरका विषयमा छलफल हुने विश्वास व्यक्त गरेका छन् । 'मुलुकको परिस्थितीलाई बिचार गरेर तथा राष्ट्रपति पदबारे बारम्बार उठ्ने प्रश्नहरुलाई मध्यनजर गर्दै अहिलेका लागि हाम्रो अध्यक्ष नै उपयुक्त उम्मेदवार हो भन्ने हामीलाई लागेको छ,’ भण्डारीले भने ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










