राष्ट्रपतिबारे आएका कुराहरु अहिल्यै नखोलौ, पर्दाभित्रै रहन दिउँ ः माधव नेपाल

काठमाडौं, फागुन ९ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रुपमा लिने बताउनुभएको छ ।
दाङको भालुवाङमा पत्रकारसँग आज कुराकानी गर्दै उनले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको समेत दाबी गरे। ‘अहिले बजारमा हल्ला धेरै छन् । चर्चा परिचर्चा धेरै छन् । यस सन्दर्भमा कुनै टुङ्गो लागेको छैन,’ उनले भने, ‘चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन।’
राष्ट्रपतिको उम्मेदवारका विषयमा आफ्नो पार्टीले निर्णय नगरेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘पावर सेरिङ’मा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । अरुकै लागि सधैँ बलिदान भइन्न.।’ अरुले फाइदा उठाउने कुरा मान्य नहुने उनको भनाइ छ।
राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न आफूलाई प्रस्ताव गरेको समाचार सार्वजनिक भए पनि अध्यक्ष नेपालले कतिपय कुरा पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए। ‘प्रेसमा आएका सबै समाचार साँचो हुन्छन् भन्ने छैन,’ उनले भने, ‘अहिले नै बोल्ने कुराको हतार गर्नुहुन्न । हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीको ध्यान देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताए। ‘संविधानलाई जोगाउने कुरामा हामी अत्यन्तै चनाखो हुनुपर्ने छ,’ उनले भने, ‘देशलाई समाजवादको दिशातर्फ लग्ने सोचतिर हामीले ध्यान दिएका छौँ।’
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










