त्रिकोणात्मक सिरिजमा नेपालको क्लिनस्वीप, स्कटल्यान्डमाथि रोमाञ्चक जित
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराएको हो ।
काठमाडौं, फागुन ९ : कप्तान रोहितकुमार पौडेल र अलरान्डर करण केसीको उत्कृष्ट साझेदारीमा नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ ।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराएको हो । नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पूरा गरेको हो।
नेपालले खराब सुरुवात गरेको खेलमा ओपनर कुशल भुर्तेल दाेस्राे ओभर र आशिफ शेख साताैं ओभरमा आउट भए । त्यसपछि कप्तान रोहितकुमार पौडेल र ज्ञानेन्द्र मल्ल क्रिजमा आएका थिए। मल्ल दसाैं ओभरमा आउट हुँदा नेपाली टाेली दबाबमा थियाे । लगत्तै कुशल मल्ल, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी र सोमपाल कामी टिक्न नसक्दा नेपाली टिम संकटमा थियो ।
११४ रन बनाउँदा ७ विकेट गुमाउँदै खराब अवस्थामा रहेको नेपाललका लागि नवौं विकेटका लागि कप्तान रोहित र करण केसीले ७५ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भयो।
पौडेलले अविजित ९५ रन बनाए । उनले १०१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । ओपनर कुशल भूर्तेल १ रनमै आउट हुँदा अर्का ओपनर आशिफ शेख १२ रन बनाउँदै पवेलियन फर्किए ।
त्यसपछि मैदान प्रवेश गरेका ज्ञानेन्द्र मल्ल ३० बलमा ४ चौका प्रहार गर्दै २१ रन बनाएर आउट हुन पुगे । त्यस्तै कुशल मल्लले १७ रन बनाउँदा सन्दीप जोरा १ रनमै आउट हुन पुगे । सन्दीप लामिछानेले ९ रन बनाए ।
८ विकेट गुमाइसकेको अवस्थामा मैदान छिरेका करण केसीले कप्तान पौडेललाई राम्रो साथ दिए । उनले ३७ बल खेल्दै २ चौका र एक छक्काको मद्दतबाट व्यक्तिगत ३१ रन बनाउँदा नेपाल स्कटल्यान्डविरुद्ध २ विकेटले विजयी भयो।
बलिङतर्फ स्कटल्यान्डका मार्क वाटले सर्वाधिक तीन विकेट लिँदा क्रिस ग्रिएभ्सले दुई विकेट लिए । त्यस्तै ब्रान्डन मिकमुलेन,सफयान शरिफ र माइकल लिस्कले समान एकएक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४६ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो ।
स्कटल्यान्डका लागि जर्ज मुन्सीले सर्वाधिक ६० रन बनाए । उनले ५० बलमा ९ चौकार २ छक्का प्रहार गरे । त्यस्तै म्याथ्यु क्रुसले ४२ रन, ब्रान्डन मिकमुलेनले ३१, केल कोइजरले २२, क्रिस्टोफर मिक्ब्राइडले २२ रन बनाउँदा अन्य ब्याट्सम्यान सस्तोमै पवेलियन फर्किए ।
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । स्कटल्यान्डका जर्ज मुन्सी, केल कोइजर, कप्तान रिची बेरिङ्गटन र टोमस मेकिन्टोसजस्ता विस्फोटक ब्याट्सम्यानहरुलाई सन्दीपले पवेलियनको बाटो देखाएका थिए ।
त्यस्तै करण केसीले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । तीन विकेट लिएका करणले ब्रान्डन मिकमेलन, माइकल लिस्क र मार्क वाटलाई आउट गरे । खेलमा ललित राजवंशी र कुशल मल्लले समान एकएक विकेट लिए ।
यो जितसँगै नेपालले त्रिकोणात्मक सिरिजका चारै खेल जित्दै लिग २को सिरिजमा घरेलु मैदानमा सबैखेल जित्ने नयाँ कीर्तिमान बनायो। कीर्र्तिपुरस्थित टियू मैदानमा भएको सिरिजमा स्टकल्यान्डले २ खेल जित्दा नामिबिया जितबिहीन भयो। यो सिरिजका चारै खेल जितेपछि नेपाल लिग २ को शीर्ष ३मा रहँदै सिधै एकदिवसीय विश्वकप छनोटमा पुग्ने सम्भावना पनि जिवितै छ।
सिरिजमा २८ खेल खेलेको नेपाल २६ अंकसहित छैठौं स्थानमा छ। अब नेपालले २ वटा सिरिज खेल्न बाँकी छ। यता, यो सिरिजसँगै स्कटल्यान्डले विश्वकप लिग २ को उपाधि जितेको छ। यो सिजनको पहिलो खेलमा नामिबियालाई हराएसँगै स्कटल्यान्ड विजेता बन्ने पक्का भएको थियो। उसलााई आजै ट्रफी हस्तान्तरण गरिनेछ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










