गोंगबु घटना : बालाजु र सोह्रखुट्टेका डिएसपीलाई कारबाही सिफारिस
घटनाको छानबिन गर्न गठित समितिले बालाजुका डीएसपी रविन विष्ट र सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बमलाई कारबाहीको सिफारिस गरेको हो।
काठमाडाैं, माघ ८ : यातायात व्यवसायीले गत सोमबार बालाजुमा गरेको प्रदर्शनको घटनामा बालाजु प्रहरी वृत्त र सोह्रखुट्टेका डिएसपीलाई कारबाहीको सिफारिस गरिएको छ।
घटनाको छानबिन गर्न गठित समितिले बालाजुका डीएसपी रविन विष्ट र सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बमलाई कारबाहीको सिफारिस गरेको हो।
दुवैको जिम्मेवारी निर्वाह चित्तबुझ्दो नभएको छानबिन समितिको ठहर छ । विष्टलाई उपत्यका प्रहरी कार्यालयले सोमबारै जिम्मेवारीबाट हटाएको थियो ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहोनीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वको ५ सदस्यीय छानबिन समितिले प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा यातायात व्यवसायीले गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे उल्लेख गरिएको एक सदस्यले बताए ।
यातायात व्यवसायीको आन्दोलनमा विष्ट चढ्नेसहित दुई वटा प्रहरीको गाडीमा आगजनी र तोडफोड भएको थियो । त्यसबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालय, नक्सालले खाँको नेतृत्वमा समिति गठन गरेको थियो ।
समितिमा उपत्यका प्रहरीका एसएसपी हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र डिएसपी खुमलाल भुसाल सदस्य थिए ।
ट्राफिक प्रहरीले लगाएको जरिवानाको विरोध गर्दै यातायात व्यवसायीले गरेको प्रदर्शनले उग्र रुप लिँदा प्रहरी वृत्त, बालाजुका दुई गाडीमा तोडफोड र आगजनी भएको थियो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










