Kathmandu Press

राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई 

‘राष्ट्रपतिको निर्वाचनमा पार्टीले के कदम चाल्ने भन्ने विषयको निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने निर्णय गरेका छौं,’ प्रवक्ता महराले भने । 
राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई 

काठमाडौं, फागुन ८ : नेकपा माअ‍ोवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । 

सोमबार साँझ बसेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार दिने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले काठमाडौं प्रेसलाई जानकारी दिए । 

साथै बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय पनि गरेको छ । ‘राष्ट्रपतिको निर्वाचनमा पार्टीले के कदम चाल्ने भन्ने विषयको निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने निर्णय गरेका छौं,’ प्रवक्ता महराले भने । 

उनले गणतन्त्र, संघीयता र संविधानको रक्षा नै पार्टीको स्वार्थ रहेकाले सो अनुसार कदम चालिने बताए ।  ‘गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो, यही स्वार्थमा केन्द्रीत रहेर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको छ,’ उनले भने । 

बैठकमा अधिकांश पदाधिकारीहरुले वर्तमान परिस्थिती बदलिएको र नयाँ ढंगले सोचेर अगाडि बढ्न अध्यक्ष प्रचण्डलाई सुझाव दिएको पनि प्रवक्ता महराले बताए । ‘ सहमति आफ्नो ठाउँमा छ, तर बदलिएको परिस्थितीमा देशको हित हुनेगरी निर्णय गर्न अध्यक्ष ज्यूलाई भनेका छौं, त्यसमा उहाँ पनि सकारात्मक देखिनुभएको छ,’ प्रवक्ता महराले भने,‘ के हुँदै जान्छ हेरौंला।’


 

प्रकाशित मिति: १९:०९ बजे, सोमबार, फागुन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्