राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक सुरु
राष्ट्रपतिको उम्मेदवारलाई लिएर माओवादी केन्द्रको आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।
काठमाडौं, फागुन ८ : नेकपा माअोवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि बैठक सुरु भएको हो ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको उम्मेदवारबारे कांग्रेस र एमालेसँग भएको कुराकानीको ब्रिफिङ गर्नेछन् ।
बैठकबाट माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न सक्ने पनि बताइएको छ ।
सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले सरकार गठनअघि भएको सहमतिअनुसार राष्ट्रपति आफ्नो दलबाट हुनुपर्ने बताउँदै आएको छ भने नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएका कारण राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्दै आएको छ ।
राष्ट्रपतिको उम्मेदवारको विषयमा आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग एक घन्टा भन्दा लामो छलफल गरेका थिए । आइतबार मात्रै नेपाली कांग्रेसका सभापति लगायतका पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँग भेटवार्ता गरी राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका थिए । कांग्रेसको प्रस्तावमा प्रधानमन्त्री प्रचण्डले सकारात्मक जवाफ दिएका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति अनुसार नै राष्ट्रपति बन्ने बताउँदै आएका छन् । राष्ट्रपतिको उम्मेदवारलाई लिएर माओवादी केन्द्रको आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










