समयमा पाठ्यपुस्तक उपलब्ध गराउन समितिको निर्देशन
'शैक्षिक क्षेत्रको सुधारमा सङ्घीयताको अनुभूति दिलाउन पुराना ऐन खारेज गरी नयाँ ऐन ल्याउन जरुरी छ। यसलाई प्राथमिकतामा राख्नुपर्छ। पटके निर्णयलाई नीतिगत व्यवस्था गर्नुपर्दछ। राज्यले सुधार गर्न चाहे दायित्व बहन गर्नुपर्दछ।'
काठमाडौं, फागुन ८ : दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका छन्।
समितिको आजको बैठकमा उहाँले सो निर्देशन दिनुभएकोह हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भने, 'शैक्षिक क्षेत्रको सुधारमा सङ्घीयताको अनुभूति दिलाउन पुराना ऐन खारेज गरी नयाँ ऐन ल्याउन जरुरी छ। यसलाई प्राथमिकतामा राख्नुपर्छ। पटके निर्णयलाई नीतिगत व्यवस्था गर्नुपर्दछ। राज्यले सुधार गर्न चाहे दायित्व बहन गर्नुपर्दछ।'
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलगायत सम्बन्धित निकायका कार्यप्रणालीलाई विश्वास गर्न आवश्यक रहेको र तोकिएको समयमा कार्य गर्न नसकेको खण्डमा आवश्यक कदम चाली पाठ्यपुस्तक समयमा उपलब्ध हुने उनको भनाइ थियो। समितिका सभापति पन्तले भने, 'सम्बन्धित निकायका पाठ्यपुस्तक उपलब्धताका सुनिश्तिताका समस्या स्पष्ट पारेमा समिति सरोकारवाला पक्षसँग सहकार्य र समन्वय गरी समाधान गर्न तयार छौं।'
विगतमा नभएका र गर्न नसकेका विषयलाई सुरुआत गरी पुस्तकको पुनःप्रयोग नीति अवलम्बन गर्ने विषयमा सम्बन्धित निकायले विचार गरी प्रक्रिया सुरु गर्नसक्ने उहाँको भनाइ थियो। जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले भने, 'विगतमा जस्तो कागजको अभाव छैन। चौबिसै घण्टा मेसिन र जनशक्ति सञ्चालनमा रहेका छन्। यो वर्ष पाठ्यपुस्तकको अभाव हुँदैन।'
कार्यक्रममा शैक्षिक क्षेत्रमा राज्यको अनुभूति दिलाउन, सार्वजनिक खरिद ऐनको समस्या अन्त्य गर्न, विकट क्षेत्रमा विशेष प्राथमिकताका साथ पुस्तक उपलब्ध गराउन, राजनीतिक र प्रशासनिक नेतृत्वको कार्यमा सुधार, सम्बन्धित निकायको अनुगमन र मूल्यांकन तथा गुनासोरहित हुनेगरी पुस्तक वितरण गर्ने विषय उठान भएको थियो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










