Kathmandu Press

यथाशीघ्र प्रधानन्यायाधीश नियुक्ति गर्न कानुन व्यवसायीको माग 

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम छोटो समयको लागि परिकल्पना गरिएको पद भए पनि स्थायी प्रधानन्यायाधीश बनाएर अदालत चलाउनेतर्फ चासो नदेखाइएको भनाइ राखे।
यथाशीघ्र प्रधानन्यायाधीश नियुक्ति गर्न कानुन व्यवसायीको माग 

काठमाडौं, फागुन ८ : प्रधानन्यायाधीश पदलाई लामो समयसम्म कायममुकायम राख्दा न्याय सम्पादनमा असर पुगेको भन्दै कानुन व्यवसायीहरुले यथाशीघ्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

सर्वोच्च अदालत बार एसोसिएसनको ४९औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उक्त माग गरेका हुन्। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम छोटो समयको लागि परिकल्पना गरिएको पद भए पनि स्थायी प्रधानन्यायाधीश बनाएर अदालत चलाउनेतर्फ चासो नदेखाइएको भनाइ राखे।

घिमिरेले भने, ‘कायम मुकायमको भरमा सर्वोच्च अदालत चलिराखेको अवस्था छ। कायममुकायम भनेको सर्वोच्च अदालतको प्रधानन्यायाधीश नहुँदासम्म छोटो समयका लागि भनेर परिकल्पना गरिएको पद हो। स्थायी प्रधानन्यायाधीश बनाएर अदालत चलाउनेतर्फ चासो भएको देखिएन। यो एउटा चिन्ताको विषय हो।’ 

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष हरिशंकर निरौलाले कामयमुकायम प्रधानन्यायाधीशका भरमा लामो समय सर्वोच्च अदालत चलाउँदा राम्रो सन्देश नजाने बताए। ‘कामुको भरमा प्रधानन्यायाधीश यति लामो समयसम्म सर्वोच्च अदालत रहिरहनु कुनैपनि हालतमा उचित होइन। संवैधानिक इजलाशको नेतृत्व पनि प्रधानन्यायाधीशले नै गर्नुपर्दछ,’ वरिष्ठ अधिवक्ता निरौलाले भने।

कायम मुकायमले निडर भएर गुणस्तरीय फैसला गर्न नसक्ने दाबी निरौलाको छ। अर्का वरिष्ठ अधिवक्ता रामनारायण विडारीले सर्वोच्च अदालतलाई कायममुकायम प्रधानन्यायाधीशबाट चलाइनु संविधानसम्मत नरहेको भनाई राखे। बिडारीले यथाशीघ्र स्थायी प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद् र संसदको ध्यानाकर्षण गराए। उनले सर्वोच्चका न्यायाधीश स्थायी भए पनि प्रधानन्यायाधीश अस्थायी रूपमा राख्ने संविधान विरुद्धको काम लामो समयदेखि भइराखेको भन्दै आपत्ति जनाए। 

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले लामो समयदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुँदा न्याय सम्पादनमा गम्भीर असर परिरहेको बताए। लामो समय प्रधानन्यायाधीश रिक्त हुँदा ढुक्कका साथ जिम्मेवारी निर्वाह गर्न नपाउने अवस्थाको सिर्जना हुने भनाई भट्टराईको थियो।

‘यस्तो अबस्थाले जहिले पनि न्यायपालिकाले कार्यपालिका वा व्यवस्थापिकाप्रति परनिर्भर रहनुपर्ने परिस्थिति सिर्जना हुन जान्छ,’ भट्टराईले भने। समयमै प्रधानन्यायाधीश नियुक्त हुन नसक्नु राजनीतिक दलहरुको अकर्मण्यता भएको टिप्पणी समेत भटट्टराईले गरे।

भट्टराईका अनुसार स्वतन्त्र न्यायपालिकाले कसैको पनि आश, त्रास र भयबाट मुक्त भएर कार्यसम्पादन गर्नुपर्ने अवस्थामा प्रधानन्यायाधीशको पद लामो समयसम्म रिक्त हुँदा स्वतन्त्र न्यायपालिकाको भावना अनुरुप कार्य गर्न सक्दैन। 

प्रकाशित मिति: १४:३७ बजे, सोमबार, फागुन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्