कांग्रेस सधैं मजदुरको पक्षमा उभिन्छ : प्रवक्ता डा. महत
नेपाल यातायात मजदुर संघसँग आवद्ध रहेको नेपाल पर्यटन श्रमिक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले मजदुर आन्दोलनबाट जन्मेको कांग्रेस सधैं मजदुरको पक्षमा उभिने बताएका हुन्।
काठमाडाैं, फागुन ८ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताएका छन्।
नेपाल यातायात मजदुर संघसँग आवद्ध रहेको नेपाल पर्यटन श्रमिक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले मजदुर आन्दोलनबाट जन्मेको कांग्रेस सधैं मजदुरको पक्षमा उभिने बताएका हुन्।
'कांग्रेसले सधैँ मजदुरको पक्षमा काम गर्छ, अरु दल मजदुरको पक्षमा बोल्छन् काम गर्दैनन्, कांग्रेस सधैं मजदुरको पक्षमा छ, काम गर्छ,' उनले भने। प्रवक्ता डा. महतले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई अगाडि बढाउन यस क्षेत्रमा कार्यरत मजदुरको महत्वपूर्ण भूमिका रहेको बताए।
उनले कोरोनाका कारण धरासायी बनेको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्न यस क्षेत्रका व्यवसायी र मजदुरबीच सहकार्यको खाँचो रहेको उल्लेख गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले मजदुर क्षेत्रको समस्या समाधानका लागि कांग्रेसले काम गर्ने बताए।
मजदुरको पक्षमा कांग्रेस सधैं अगाडि बढ्ने उनको भनाइ थियो। नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशका प्रमुख सचेतक काफ्लेले पर्यटन क्षेत्रलाई अगाडि बढाउन आवश्यक पर्ने ऐन, कानुन निर्माणका लागि प्रदेश सरकारसँग कांग्रेसले सहकार्य गर्ने विश्वास व्यक्त गरे। पर्यटन मजदुरको समस्या समाधान गर्न बागमती प्रदेशले भूमिका खेल्ने उनको भनाइ छ।
नेपाल यातायात मजदुर सङ्घका पूर्वअध्यक्ष एवम् नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए। 'नेपाल ट्रेड युनियन कांग्रेसले अगाडि सारेको अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारले पहल थाल्नुपर्छ”, उनले भने।
नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारीले पर्यटन क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पार्टी र सरकारले भूमिका खेल्नुपर्ने बताए। २०६६ मा स्थापना भएको नेपाल पर्यटन श्रमिक सङ्घमा हाल देशभर एक हजार ४०० पदयात्रा, आरोहण, जलयात्रा, ‘टुर’, जङ्गल सफारी गाईडलगायत आवद्ध रहेको सङ्घका अध्यक्ष कपिल पाण्डेले जानकारी दिए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










