अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित
यात्रुहरूले अध्यागमनप्रति आक्रोश व्यक्त गरेको र उनीहरूको खप्की आफूहरूले बेहोर्नुपरेको ती कर्मचारीले बताए।
काठमाडौं, फागुन ८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ। उडान हुन नसक्दा सयौं यात्रु अलपत्र परेका छन्।
करिब एक घन्टादेखि अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकाले उडान प्रभावित भएको त्यहाँका एक कर्मचारीले बताए।
सर्भर बिग्रिएका कारण फ्लाई दुबई, एयर इन्डिया, इन्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका ९ वटा जति उडान प्रभावित भएको बताइएको छ। यात्रुहरूले अध्यागमनप्रति आक्रोश व्यक्त गरेको र उनीहरूको खप्की आफूहरूले बेहोर्नुपरेको ती कर्मचारीले बताए।
उडान प्रभावित भएपछि तेस्रो मुलुकको यात्राका लागि ‘कनेक्टिङ फ्लाइट’ छुट्न सक्ने भन्दै यात्रुहरू आक्रोशित देखिएका छन्।
अध्यागमनमा पटकपटक सर्भर डाउन हुने समस्या देखिएको छ। गत माघको मध्यतिर पनि त्यस्तै समस्या आउँदा हवाई यात्रुले सास्ती भोग्नुपरेको थियो। गृहमन्त्रालय र अध्यागमन विभागलाई ताकेता गरे पनि समाधान नभएको कर्मचारीले बताएका छन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










